रानीपोखरी पुनःनिर्माणमा प्रयोग भएको कंक्रिट हटाइयो • Image Khabar Image Khabar


रानीपोखरी पुनःनिर्माणमा प्रयोग भएको कंक्रिट हटाइयो


Imagekhabar
१९ असार २०७५, मंगलवार ०२:४३

रानीपोखरी पुनःनिर्माणमा प्रयोग भएको कंक्रिट हटाइयो

काठमाडौं, असार १९ । रानीपोखरी पुनःनिर्माणकाक्रममा यसअघि प्रयोग भएका आधुनिक निर्माण सामग्री (कंक्रिट) हटाइएको छ ।

अबको केही दिनमा नै पुनःनिर्माणको काम सुरु हुने कामपाले जानकारी दिएको छ ।

१८ महिनादेखि निर्माणकार्य भइरहेको रानीपोखरीमा आधुनिक निर्माण सामग्री प्रयोग भएको भन्दै चौतर्फी विरोध भएपछि विगतमा निर्माणकाक्रममा प्रयोग भएको आधुनिक निर्माणको सामग्री सबै हटाइएको हो ।

भूकम्प जानुअघि जस्तो अवस्थामा रानीपोखरी रहेको थियो, सोहीअनुरुप पुनःनिर्माणको काम सम्पन्न गरिने कामपाका इन्जिनियर राम थापाले जानकारी दिए ।

थापाले भने–‘आगामी आवको सुरुआतमा नै काम सुरु गरेर त्यसै आवमा नै सक्नेगरी कामपाले काम अघि बढाउनेछ । सबैसँग सल्लाह भइसकेको हुनाले यसअघिजस्तो काम रोक्ने र विरोध हुँदैन । तोकिएकै समयमा काम सम्पन्न हुन्छ ।’

पुरातत्व विभागबाट सहमति आएसँगै पुनःनिर्माणको काम सुरु हुने पनि कामपाले जानकारी दिएको छ । त्यसका लागि साउनको पहिलो सातासम्म कुर्नुपर्छ ।

यसअघि, कामपाले आगामी जेठ १५ गतेदेखि पुनःनिर्माण सुरु गर्ने जानकारी गराएपनि हालसम्म पुनःनिर्माण हुन सकेको छैन ।

२०७२ सालको भूकम्पका कारण रानीपोखरी र पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरमा पनि क्षति पुगेको थियो ।

पुनःनिर्माणलाई प्रभावकारी र सहज बनाउनका लागि गत पुस १३ गते विज्ञ समूह गठन गरिएको थियो ।

उक्त विज्ञ समूहले कामपालाई प्रतिवेदन बुझाउनेक्रममा प्रताप मल्लकालीन शैलीमा निर्माण गर्न कुनै समस्या नहुने भन्दै सोहीअनुरुप निर्माण गर्न सुझाव दिएको थियो ।

प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तीन्द्र मल्लको नाममा यो पोखरी बनाएका थिए ।

यो पोखरीको निर्माणकार्य करिब पाँच वर्षभित्र सम्पन्न अर्थात् नेपाल संवत् ७८९ (वि.सं. १७२५) मा भएको थियो र ने.सं. ७९० (वि.सं. १७२७/इसं. १६७०) मा शिलापत्र राखिएको थियो ।

यसलाई नेपाल संवत् ८११ इ.सं. १६११)मा न्हुरपुखुर (न्हुपुखु) भनिएको छ, जसको अर्थ ‘नयाँ पोखरी’ भन्ने हुन्छ ।

बालगोपालेश्वर मन्दिरको स्वरुप ग्रन्थकुटशैलीको थियो । यसको प्रमाण हाल मन्दिरको चारैतर्फको प्रवेशद्वारमा राखिएको ढुंगाद्वारा निर्मित संघारले पनि पुष्टि गर्दछ ।

उक्त कुरा प्राप्त पुरानो मन्दिरको शैलीको रेखाचित्र (स्केच)बाट पनि प्रस्ट हुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्