Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


प्रदेश नम्बर सातमा कांग्रेस किन कमजोर ? यस्तो छ कारण


0
Shares

८८ स्थानीय तह रहेको प्रदेश नं ७ को मत परिणाम आउन बाँकी धनगढी उपमहानगर र कंचनपुरको पुर्नवास नगरपालिका वाहेक कांग्रेस दोस्रो स्थानमा झरेको छ । यो प्रदेशमा एमाले पहिलो शक्तिका रुपमा उदाएको छ ।

अहिलेसम्म एमालेले प्रदेश ७ का महत्वपूर्ण नगरपालिकासहित ३८ स्थानमा जित हासिल गरेको छ ।

कांग्रेसले अधिकांस नगरपालिका गुमाएर ३७ स्थान प्राप्त गरेको छ । माओवादीले १० स्थानमा जितेको छ भने फोरमले १ स्थानमा बिजय हासिल गरेको छ ।

देउवाको गृह जिल्ला डडेलधुरा सदरमुकामको अमरगढी नगरपालिका, क्षेत्रीय सदरमुकाम रहेको दिपायल सिलगढी नगरपालिका, कांग्रेसभित्र प्रभावशाली देखिने गरेका नेता एनपी साउद र रमेश लेखकका क्षेत्र कंचनपुरको भिमदत्त नगर, कृष्णपुर नगरसंगै कञ्चनपुरकै बेलौरी नगरपालिकामा पराजित हुनु परेकोछ ।

कैलालीका टिकापुर नगरपालिका, गोदावरी नगरपालिका जस्ता राजनीतिक रुपमा समग्र प्रदेशलाइ प्रभाबित पार्ने क्षेत्रमा कांग्रेसले पराजय भोग्नु परेको छ ।

यस अघि आफ्नो बर्चस्व भएका अधिकांस राजनैतिक आधार क्षेत्र गुमाएको कांग्रेसका लागि आगामी निर्वाचन झन वढी चुनौतीपूर्ण हुने देखिएका छन् ।

‘मतदाताको चाहना अनुरुप कांग्रेसले आफुलाइ परिवर्तन गर्न नसकेको संकेत हो’ सुदूरपश्चिम बिश्वविद्यलायका पूर्व कुलसचिव प्राध्यापक डा. हेमराज पन्तले भने, ‘न चुनावी रणनीति भयो नत जन चाहनाअनुसार आफूलाइ परिवर्तन नै गर्न सक्यो, जसको परिणाम हो कांग्रेसले आफ्ना परम्परागत आधार क्षेत्र गुमाएको छ उनले भने, ‘ठूलो संख्यामा थपिएका युवा मतदाताको चाहनाअनुरुप कांग्रेस अगाडी वढ्न नसकेको पनि भन्न सकिन्छ ।’ टिकट बितरणमा देखिएको अन्योल र ढिलाइले पनि कांग्रेसलाइ कमजोर वनाएको विश्लेषकहरुको भनाइ रहेको छ ।

बैसाख ३१ को पहिलो चरणलाइ लक्ष्यित गरि एमालेले चुनावी प्रचार प्रसार सुरु गरेको २ महिनापछि कांग्रेस चुनावी मैदानमा उत्रनु पनि हारको अर्को महत्वपूर्ण पक्ष देखा परेकोछ ।

एमालेले सुदुरपश्चिमका अधिकांस स्थानिय तहका उम्मेदवारहरुको छनौट बैसाख पहिलो साता नै गरिसकेको थियो, कांग्रेस भने असार पहिलो साता नामांकन दर्ता गराउने दिनसम्म उम्मेदवार टुंगो लगाउन नसकिरहेको अवस्था पनि देखियो । -कान्तिपुर दैनिकबाट