Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


वाग्मती सफाइ महाअभियानः भत्काइए वाग्मती किनारका तीन टहरा


0
Shares

समितिका आयोजना प्रमुख ज्योतिकुमार श्रेष्ठको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय काठमाडौं र काठमाडौं महानगरपालिकाको सहयोगमा नदीको सीमा मिची बनेका टहरा भत्काइएको हो ।

दीलमाया विक, चन्द्रध्वज लामा र चक्र लामाले त्रिपुरेश्वर नयाँपुल (गुसिँगाल) क्षेत्रको नदी किनारमा दुईतले टहरा बनाएकाले भत्काइएको सफाई महाअभियानका प्रवक्ता उमेश बोहराले जानकारी दिए ।

वाग्मती सफाइ महाअभियानको २१८औं हप्तामा शनिबार (आज) त्रिपुरेश्वर क्षेत्रमै सफागरी १६ मेट्रिक टन फोहर व्यवस्थापनसमेत गरियो ।

सफाइमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव खगराज बराल, नायिका एवम् वाग्मती सद्भावना दूत मनिषा कोइराला, ‘प्रेम गीत–२’ चलचित्रका निर्देशक रामशरण पाठक, नायक प्रदीप खड्का र नायिका अश्लेषा ठकुरीसहितको समूह, हास्यकलाकार मनोज गजुरेल, गायिका कोमल वली, युवा परिषद्का उपाध्यक्ष माधवप्रसाद ढुंगेल, गायत्री परिवारका डा.राजु अधिकारी, जीवन विज्ञानका एलपी भानु शर्मा, डा.लक्ष्मी पौड्याल, अर्जुन धरेल, गोकुल थापा, राजकुमार भट्टराई, किशोरसिंह शाही, नारायणकुमार श्रेष्ठ, गोविन्द राउत, चक्रबहादुर चन्द, गोविन्द काफ्लेलगायतका विशिष्ट व्यक्तिको सहभागिता थियो ।

सो अवसरमा ‘प्रेम गीत–२’ चलचित्रका निर्माता सन्तोष सेनले ५०० थान मास्क र ५०० जोर पञ्जा सफाइ महाअभियानलाई सहयोगस्वरुप हस्तान्तरण गरे ।

सफाइमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अधिकारसम्पन्न वाग्मती सभ्यता, काठमाडौं महानगरपालिका, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, ‘प्रेम गीत–२’ चलचित्र समूह, मुक्तिनाथ विकास बैंक, पहिलो पाइला, न्यानो स्पर्श, नेपाल नदी संरक्षण संस्था, राष्ट्रिय युवा परिषद्, जीवन विज्ञान, हलेसी डेकोर, युरेशिया रेयुकाइ, गायत्री परिवार, नेपाल विज्ञापन संघ, सुपा देउराली युथ नेटवर्क, ब्लुक्रस अस्पताललगायत संस्थाको संस्थागत सहभागिता थियो ।

गुह्येश्वरी–वाग्मती सफाइ १७९औं हप्तामा

गुह्येश्वरी माथिको वाग्मती सफाइको १७९औं हप्तामा शनिबार (आज) जोरपाटी र गोठाटार जोड्ने पहेँलो पुल सफाइगरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा काठमाडौं क्षेत्र नं–३ का सांसद रामेश्वर फुयाँल, जापानका लागि पूर्व नेपाली राजदूत डा.गणेश योञ्जनलगायत १०० भन्दा बढी स्थानीयवासीको सक्रियता रहेको पुडासैनी मैत्री समाजका अध्यक्ष उत्तम पुडासैनीले बताए ।

सफाइको नेतृत्व समाज र ‘राम्रो जोरपाटी हाम्रो जोरपाटी’ले गरेका थिए । सो अवसरमा पुल नजिकैको साँकुरा उद्यान पनि सफाई गरियो ।

रुद्रमती सफाइ १७७औं हप्तामा

रुद्रमती सफाइको १७७ औं हप्तामा शनिबार (आज) कालोपुलदेखि सिफल चौर, गौशाला हँुदै रातो पुलसम्म जनचेतनामूलक अभियानसहित घरदैलो र सफाई गरियो । सफाइमा काठमाडौं महानगरपालिका वडा नं–३० का अध्यक्ष दलबहादुर कार्कीसहित सदस्यको सहभागिता थियो । सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

विष्णुमती सफाइ १४९औं र चक्रपथ सफाइ १४औं हप्तामा

विष्णुमती सफाइको १४९ औं हप्ता र चक्रपथ सफाइको १४औं हप्तामा शनिबार (आज) गोँगबु बसपार्क क्षेत्रमा संयुक्तरुपमा सफाइ गरी ११ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

सफाइमा ४०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो । आउँदो शनिबार १५० औँ हप्ताको विष्णुमती सफाइ गोँगबु पुल नयाँ बसपार्क क्षेत्रमा गरिने भएको छ । सफाइमा उपत्यकाका सबै सफाई अभियानका अभियन्ताको सहभागिता रहने जनाइएको छ ।

तिलगंगा– वाग्मती सफाइ १२५औं हप्तामा

तिलगंगा महिला समूहले १२५औं हप्ताको सफाइ तिलगंगास्थित वाग्मती किनारमा गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरेको छ । मिनभवनस्थित आलोकनगरमा सकारात्मक मातृशक्ति आवाजले पनि १४औं हप्ताको सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरेको छ । रासस