Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


पोखरामा हर्न बजाउन निषेध, कस्ता स्थानमा बजाउन पाइन्छ हर्न ?(भिडियो)


0
Shares

-प्रदिप पौडेल/ईमेज

पोखरा–लेखनाथ महानगरपालिकामा जिल्ला ट्राफिक कार्यालय कास्कीले ‘नो हर्न जोन’ घोषणा गरेको हो ।

पर्यटकी नगरी पोखरामा नो हर्न क्षेत्रको घोषणा गरिएसँगै यसको पक्ष र विपक्षमा टिप्पणी हुन थालेका छन् । धेरैले निर्णयको स्वागत गरे पनि जरुरी नभएको बताउनेहरु पनि उत्तिकै छन् ।

आकस्मिकबाहेक अरु अवस्थामा हर्न बजाउन नपाउने नियम बनाइएको छ ।

नो हर्न क्षेत्रको घोषणा गर्दै पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले शहरमा ध्वनी प्रदूषण हुन नदिन यस्तो नियम लागू गरिएको बताए ।

पोखरा महानगरपालिकामा दैनिक साना ठूला गरी करबि १ लाख ५० हजार सवारी साधन गुड्ने गर्छन् ।

गम्भीर दुर्घटना हुने खतरा भएमा वा सवारी गुडिरहँदा सडकको एक भागबाट अर्को भाग नदेखिने मोड आएमा मात्रै हर्न बजाउन पाइनेछ ।

यस्ता जोखिमयुक्त मोडमा पनि प्रेसर हर्न बजाउन पाइने छैन । अनावश्यक रुपमा हर्न बजाए ट्राफिक प्रहरी र यातायात ब्यवस्था विभागले ५ सय रुपैयाँसम्म जरिवाना गर्ने रेकर्ड पनि राखिने छ ।

दोस्रो पटकको कारवाहीमा एक हजार रुपैयाँ र तेस्रोपटकमा १५ सय रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक अवदेश बिष्टले जानकारी दिए ।

यातायात व्यवसायीले भने सडकको पूर्वाधार बिना नै नो हर्न क्षेत्रको घोषणा गरेको भन्दै बिरोध गरेका छन् ।

खाल्टा खुल्टी, ट्राफिक लाईट र अब्यवस्थित पार्किङका कारण दैनिक सवारी दुर्घटना हुने सडकमा उपयुक्त संरचना बिनै नियम लागु गरिएकोमा पृथ्वी राजमार्ग वस ब्यवसायी समितिका महासचिव योगेन्द्र केसीको आपत्ति छ ।

ट्राफिक प्रहरीले भने महानगरका १ सय १९ स्थानमा नो हर्न जोनको बोर्ड राखेर सवारी चालकलाई यही ८ गतेसम्म सचेत गराउने जनाएको छ ।