साउनभर लाग्ने ‘बोलबम’ मेलाको अवसरमा प्रमुख धार्मिक एवं पर्यटकीयस्थल हलेसीमा आइतबार बिहानदेखि दर्शनार्थीको बाक्लो भीड लागेको हो ।
हलेसी–तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने हलेसीमा सुरु भएको बोलबम मेलाको अवसरमा पैदल तथा यातायातका सवारी–साधनमार्फत् आएका दर्शनार्थीको बाक्लो घुइँचो लागेको हलेसी महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक सम्मरबहादुर भुजेलले बताए ।
हलेसी महादेवमा देश तथा विदेशबाट आएका हिन्दू धर्मावलम्बीहरुले नुहाएर ब्रत गर्दै महादेव, पार्वती र गणेशलाई नदीको जल चढाउने गरेका छन् ।
हलेसीमा विवाहित महिलाले आफ्नो श्रीमान्को दीर्घायु र परिवारको सुख–समृद्धिको कामना गर्दै र अविवाहित महिलाले असल श्रीमान् पाउने कामना गर्दै पूजा–अर्चना गर्ने गर्दछन् ।
पवित्र जल तथा बेलपत्रले शिवको पूजा–आराधना गरे आफ्नो मनोकामना पूरा हुने र सुख–शान्ति मिल्ने विश्वास छ ।
‘बोलबम’ मेला अवधिमा नेपालका सिराहा, सप्तरी, धनुषा, जनकपुर, झापा, विराटनगर, इलाम, भारतको सिक्किम, दार्जिलिङ, गान्तोक, भुटान, चीनको तिब्बतलगायतका ठाउँबाट गेरु वस्त्रधारी दर्शनार्थी आउने गरेका छन् ।
हलेसीमा घुमफिर गर्दै सामूहिकरुपमा उच्चारण गरिएको ‘बोलबम’ शब्दले हलेसी गुञ्जयमान बनेको छ ।
‘बोलबम’ मेलाको अवसरमा बराहपोखरी र कालिका भगवती मन्दिरमालगायतका ठाउँहरुमा दर्शनार्थीहरुको बाक्लो भीड लागेको छ ।










प्रतिक्रिया दिनुहोस्