आयोगका प्रवक्ता मोहना अन्सारीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाको सत्यतथ्य अनुसन्धान गरी १० दिनभित्र जानकारी गराउन पनि गृह मन्त्रालयलाई निर्देशनसमेत दिइएको छ ।
विज्ञप्तिमा भनिएको छ–‘पछिल्लो समयमा काठमाडौंका सडक तथा खानेपानी विस्तार गर्ने, ढल व्यवस्थापन गर्ने सन्दर्भमा भत्काइएका सडक मर्मत–सम्भार नगर्दा सर्वसाधारण एवं बालबालिकाले दैनिक आवत–जावतमा समस्या भोग्नुपरेको तथा मानवीय क्षेतिसमेत हुने गरेको छ ।’
विकास निर्माणसँग सम्बन्धित निकायबीच समन्वयको अभाव, आर्थिक वर्षको अन्त्यमा अत्यधिक बजेट खर्च गर्ने प्रवृत्ति, सम्बन्धित निकायबाट प्रभावकारी अनुगमनको अभावबाट यस्ता प्रकृतिका घटना घटने गरेको आयोगको ठहर छ ।
आयोगले दिनप्रतिदिन सडकको अवस्था नाजुक बन्दै जाँदासमेत नगरपालिका, खानेपानी तथा ढल निकास विभाग, मेलम्ची खानेपानी आयोजनालगायतले आमनागरिकको अधिकारप्रति जिम्मेवारी नलिनु अत्यन्त दुःखद् भएको विज्ञप्तिमा उल्लेख छ ।
आयोगले यस किसिमका घटना भविष्यमा देशको कुनैपनि भागमा दोहोरिन नदिनेतर्फ तत्काल आवश्यक सम्पूर्ण उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।
शुक्रबार सामाखुसीमा नेपालटारकी कक्षा–३ मा पढ्ने विनीता फुयाँलको ढलले बगाएर ज्यान गएको थियो भने अर्की बालिका सत्या सापकोटालाई ढलले बगाउँदै गर्दा उद्धार गरिएको थियो । रासस










प्रतिक्रिया दिनुहोस्