पहिरोको जोखिम रहेको सडकमा भौतिक र मानवीय क्षति हुन सक्ने खतरालाई दृष्टिगत गरी रातको समयमा सवारी सञ्चालन नगर्ने निर्णय भएको हो ।
प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, प्रहरी नायब उपरीक्षक वसुन्धरा खड्का, जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक शिवप्रसाद पाठक र यातायात व्यवसायी समितिका प्रतिनिधिको सोमबार बसेको बैठकले गरेको निर्णय बिहीबारदेखि लागू हुने जनाइएको छ ।
यातायात व्यवसायीसँगको छलफलपछि साउन ५ देखि भदौ १५ गतेसम्म बेनी नगरपालिका–९ गलेश्वरदेखि अन्नपूर्ण गाउँपालिका–३ दानाखण्डको सडकमा रातमा सवारी सञ्चालन नगर्ने निर्णय भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
बेनीबाट जोमसोम जाने सवारीसाधनलाई बेलुकी ५ः३० बजेपछि गलेश्वरमा र मुस्ताङबाट बेनी आउने सवारीसाधनलाई साँझ ६ बजे भुरुङ तातोपानीमा रोकिने जिल्ला ट्राफिक प्रहरी प्रमुख शिवप्रसाद पाठकले जानकारी दिए ।
उनका अनुसार दुईतर्फबाट बिहान ५ बजेपछि मात्र सवारीसाधन छुट्नेछन् ।
मुस्ताङ जाने सवारीसाधन साँझ ५ः३० बजेभित्र गलेश्वरबाट अगाडि र मुस्ताङबाट बेनी आउने सवारीसाधन बेलुकी ६ बजेभन्दाअघि नै भुरुङ तातोपानीबाट छुट्नुपर्नेछ ।
गलेश्वरदेखि दानासम्मको सडकमा पहिरो र ढुंगा खसिरहने हुँदा दुर्घटनाको जोखिम भएकाले रातको समयमा सवारी सञ्चालन नगर्ने निर्णय भएको प्रजिअ, राजुप्रसाद पौडेलले बताए ।
आपत्कालीन अवस्थाबाहेकको समयमा निर्णय लागू हुने प्रशासनले जनाएको छ ।
केही दिनअघि गुडिरहेको गाडीमा सडकमाथिबाट ढुंगा खसेर चालकलाई चोट लागेको थियो ।
कालीगण्डकी नदीको किनारै किनार रहेको कच्ची सडकको अधिकांश भाग अक्करे भिरको फेदीमा पर्छ ।
म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई जोड्ने यो सडक भएर स्थानीयवासीका साथै ठूलो संख्यामा तीर्थयात्री र पर्यटक ओहोरदोहोर गर्छन् ।
यता, नारायणगढ–मुग्लिन सडकखण्डको जलवीरेमा आज बिहान खसेको पहिरो पन्छाएपछि सवारी आवागमन सञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार बिहान ४ः३० बजे खसेको पहिरो पन्छाएर ६ः३० बजेदेखि सवारी आवागमन सञ्चालन गरिएको हो ।
रातको समयमा सो सडक बन्द गरिँदै आएको छ । बिहान ४ बजेदेखि सडक खुल्ने भएपनि ४ः३० बजे पहिरो खसेर सडक अवरुद्ध भएपछि यातायातका साधन रोकिएका थिए ।
पहिरो खसेको ठाउँ मुग्लिनबाट सात किमी नारायणगढतर्फ पर्छ ।
सडक विस्तारका क्रममा भित्तो काटिएको ठाउँमा पहिरो खस्ने क्रम बढेपछि सो सडक राति बन्द गरिँदै आएको छ । रासस










प्रतिक्रिया दिनुहोस्