Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


भूकम्प प्रभावितको खाद्यान्न कुहियो, दाल-चामलमा ढुसी र किरा परेको पाइयो


0
Shares

विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले गोरेटो गोरखासँगको साझेदारीमा ती गाउँमा खाद्यान्न (दाल र चामल) वितरणका लागि पुर्‍याएको थियो ।

खच्चरमार्फत खाद्यान्न ढुवानी गर्दा पानीले भिजेको र सुरक्षित ठाउँमा खाद्यान्न भण्डारण गर्न नसक्दा उहिया र सिर्दिवासका बासिन्दाले तोकिएको परिमाणानुसार खाद्यान्न पाउन सकेका छैनन् ।

सोमाबार उहिया र सिर्दिवासमा खाद्यान्न वितरण गर्ने क्रममा केही बोरा खाद्यान्न कुहिएको, डल्लो परेको र कीरा लागेको फेला परेपछि थोरै परिमाणमा मात्रै खाद्यान्न वितरण गरिएको स्थानीयवासीले जनाएका छन् ।

भण्डारण गरिएको मध्ये आधाजसो परिमाणमा दालचामल कुहिएको उहिया खोर्लाका जीतबहादुर गुरुङले बताए ।

प्रत्येक घरधुरीलाई १५० केजी चामल र २७ केजी दाल दिनुपर्नेमा सोमबार ७५ किलो चामल र नौ किलो दाल मात्रै दिइएको भन्दै गुरुङले बाँकी खाद्यान्न पछि दिने भनी गोरेटोका कर्मचारीले बताएको जानकारी दिए ।

सिर्दिवासको जगतमा पनि सोमबार नै खाद्यान्न वितरण गर्ने क्रममा कुहिएको दाल र चामल भेटिएको थियो ।

दालमा ढुसी लागेको, डल्लो परेको र कीरा भेटिएको सिर्दिवासका वडाध्यक्ष रामकुमार गुरुङले बताए ।

खच्चरबाट ढुवानी गर्दा पानीले भिजाएको खाद्यान्न उचित हेरचाह नगरिँदा कुहिएको हो ।

“खच्चडबाट ढुवानी गर्दैमा २० बोरा चामल बिग्रिएको थियो । त्यहीमाथि चिसो कोठामा भण्डारण गरेछन्, थप १५ बोरा बिग्रिएछ” उनले भने ।

उहिया गाउँमा २०० घरलाई खाद्यान्न बाँडेको डब्लुएफपीले सिर्दिवासका ६९ घरधुरीमा पनि बाँडिसकेको छ ।

सिर्दिवासकै ६०० घरधुरी र उहियाका ४०० घरधुरीलाई पनि बाँड्न बाँकी छ । चालीस दिन काम गरेका व्यक्तिले प्रतिव्यक्ति एक सय ५० केजी चामल र २७ केजी दाल पाउने बताइएको छ ।

जेठको दोस्रो साता काम सकिए पनि खाद्यान्न नपाएको भन्दै स्थानीयवासीले गुनासो गर्दैआएका थिए ।

कुहिएको चामल बाँडिएको छैन

कुहिएको र राम्रोे खाद्यान्न अलग्याएर राम्रो दाल, चामल मात्रै वितरण गरेको गोरेटो गोरखाले जनाएको छ ।

डब्लुएफपी, गोरेटो गोरखाका कर्मचारी र गाउँका वुद्धिजीवी मिलेर राम्रो दाल, चामल मात्रै बाँडेको स्थानीयवासीले बताए । अपुग खाद्यान्न दोस्रोचरणमा बाँड्ने बताइएको छ ।

यसअघि लाप्राकमा ठूलो परिमाणमा कुहिएको चामल फेला परेपछि डब्लुएफपीले खाल्डो खनेर चामल नष्ट गरेको थियो ।

द्वन्द्व प्रभावितलाई रु १७ करोड ४१ लाख

दशवर्षीय सशस्त्र द्वन्द्वका समयमा तत्कालीन राज्य र विद्रोही पक्षका द्वन्द्व प्रभावितलाई रु १७ करोडभन्दा बढी राहत वितरण गरिएको छ ।

निधन भएका र बेपत्ता रहेकाहरुको परिवारका साथै विस्थापितलाई राहत बितरण गर्न शान्ति तथा पुनःनिर्माण मन्त्रालयले रु १८ करोड ४० लाख पठाएकामा अहिलेसम्म रु १७ करोड ४१ लाख ८७ हजार ८४५ वितरण गरिसकिएको स्थानीय शान्ति समितिका कार्यालय प्रमुख रुलबहादुर आलेले जानकारी दिए ।

द्वन्द्वमा निधन भएकाहरुको परिवारलाई यसअघि रु पाँच लाखका दरले राहत दिइएको थियो ।

यस वर्ष रु पाँच लाख थप गरी रु दश लाख राहत उपलब्ध गराइएको हो । विस्थापितको परिवारलाई भने रु २५ हजारका दरले राहत दिइएको छ । रासस