भारतीय जङ्गलबाट नेपाल छिर्ने हात्तीको बथानले भद्रपुरका दक्षिणी भेगका जनतालाई दुःख दिन थालेपछि उनीहरु रातभर जाग्राम बस्न बाध्य भएका हुन् ।
पूर्वी झापाको बाहुणडाँगीमा नियन्त्रण भएपछि भारतीय हात्तीको बिगबिगी अहिले भद्रपुरको दक्षिणी भेगमा बढेको छ ।
पछिल्लो केही महिनायता चन्द्रगढी सामुदायिक वनमा बस्दै आएका पाँचवटा हात्तीको समूहले साँझ परेपछि जङ्गल नजिकका बस्तीमा प्रवेश गरी घर भत्काउने, बाली खाइदिने तथा बोटबिरुवा र घरपालुवा जनवारमाथि आक्रमण गरी क्षति पुर्याउन थालेपछि स्थानीयवासी त्रसित भएका छन् ।
दुई दिन पहिले भद्रपुर १० स्थित बरपिपल चौकमा हात्ती प्रवेश गरी तीनवटा घरमा क्षति पुर्याएको समाजसेवी यादवप्रसाद भट्टराईले जानकारी दिए ।
उनका अनुसार जिल्ला वन कार्यालयको गस्ती टोलीले हात्ती धपाउन स्थानीयवासीलाई सहयोग गरिरहेको भए पनि समस्या हाल हुनसकेको छैन ।
प्रायः दिनहुँ जङ्गली हात्ती मानबस्तीमा आउने क्रम बढ्दै गएपछि नियन्त्रणका लागि दीर्घकालीन योजना बनाउनुपर्ने माग भट्टराईको छ । रासस










प्रतिक्रिया दिनुहोस्