Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


निजामती कर्मचारी प्रशासनमा अराजकता र उच्छृंखलता बढ्दै (भिडियो रिपोर्ट)


0
Shares

समाजमा एक बहुचर्चित भनाइ छ–‘मनसुनले खेती र भनसुनले काम’ । अर्थात् मनसुन सुरु नभइ खेती हुँदैन, भनसुन नभइ काम हुँदैन । यो बहुचर्चित भनाइसँग मिल्छ, नेपालको कर्मचारीतन्त्र ।

कर्मचारीतन्त्रमा कतिसम्म बेथिति छ भने कुनै काम गर्नुपरे सम्बन्धित स्थानमा चिनेजानेका मान्छे हुनैपर्छ । चिनजानको मान्छे छैन भने ढुक्क भए हुन्छ कि काम हुँदैन ।

नेपालको सामाजिक–आर्थिक रूपान्तरणको मुख्य समस्या नै यथास्थितिवादी कर्मचारीतन्त्र हावी हुनु भएको भन्ने तर्क बलियो हुँदै गएको छ ।

कर्मचारीतन्त्रलाई स्वेच्छाचारी र निकम्मा बनाउनमा कर्मचारी ट्रेड युनियन जिम्मेवार भएको कतिपयको भनाइ छ ।

कर्मचारीकै हकहितका लागि गठन गरिएको भनिएपनि यो संगठन राजनीतिक दलको भ्रातृसंगठनजस्तो भएको छ ।

पूर्वमुख्यसचिव विमल कोइराला कर्मचारीतन्त्रभित्र बेथिति सिर्जना हुनुमा राजनीतिकरण नै मुख्य दोषी भएको बताउँछन् ।

कर्मचारी ट्रेड युनियनहरु अहिले राजनीति गर्ने अखडा बनेका छन् । कर्मचारी सरुवा, बढुवामात्र नभइ अनुचित लाभका लागि अनावश्यक दबाब दिने प्रवृत्ति छ, ट्रेड युनियनमा ।

सरकार अहिले संघीय कर्मचारी समायोजनको तयारीमा छ । तर, सरकारले तयार पारेको संघीय कर्मचारी समायोजनप्रति कर्मचारीहरुले आपत्ति जनाइरहेका छन् ।

कर्मचारीले सरकारले खटाएको ठाउँमा जानुपर्ने हो । तर, कर्मचारीहरु अहिले समायोजन प्रक्रिया नै आफू अनुकूल बनाउन दबाब दिइरहेका छन् ।

तर, पूर्वमुख्यसचिव कोइराला संघीय कर्मचारी समायोजनमा सरकारले कर्मचारीलाई सहुलियत दिनुपर्ने बताउँछन् ।

जबर्जस्ती समायोजन प्रक्रियामा लगिए प्रत्युत्पादक हुने पूर्वमुख्यसचिव कोइरालाको भनाइ छ ।

जतिसुकै व्यावसायिकताका कुरा गरे पनि नेपालको कर्मचारीतन्त्र व्यावसायिक हुन सकेको छैन ।

तलबभत्ता वृद्धि नभएको भन्दै मुख्य प्रशासनिक क्षेत्र सिंहदरबार ठप्प पार्ने काम निजामती कर्मचारीले गरेका छन् । ठूला–ठूला भ्रस्टाचारका कान्डमा पनि निजामती कर्मचारी मुछिएका छन् ।

पछिल्लो समय आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मा भ्रस्टाचारको अभियोग खेपिरहेका छन् । त्यसो त मुख्यसचिव सोमलाल सुवेदी बहालमा रहँदै एडीबीको जागिर खान गएको घटना पनि सेलाउन पाएको छैन । यो घटनालाई कतिपय कर्मचारीहरुले निजामती सेवाको ‘कलंक’कोरुपमा लिएका छन् ।

मुलुकमा राजनीतिक परिर्वतन भएपनि कर्मचारीतन्त्र भने समयसापेक्ष परिवर्तन हुन सकेको छैन । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।