Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


मध्य तराईकै नमूना बन्यो नेपाल राष्ट्रिय माध्यमिक विद्यालय (भिडियो)


0
Shares

-प्रकाश लम्साल/ईमेज

प्रत्येक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल भएकै कारण यो विद्यालय मध्यतराईमै नमूना बनेको हो ।

प्रत्येक वर्ष ८५ प्रतिशतभन्दा बढी सफल नतिजा ल्याउन सफल बाराको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मध्य तराईकै नमूना विद्यालय बनेको छ ।

यो विद्यालयले गत वर्ष सञ्चालित कक्षा ११ को विज्ञान संकायमा शतप्रतिशत नतिजा ल्याएपछि बिज्ञान संकायका विद्यार्थीको पहिलो रोजाईको विद्यालय बनेको छ ।

नतिजासँगै बिज्ञान संकायमा पढ्न राजधानी लगायतका सहरमा जान चाहने मध्य तराईका जिल्लाका विद्यार्थीसमेत यही विद्यालयमा भर्ना भएर अध्ययन गर्न थालेका छन् ।

निजी क्षेत्र र अन्य सामुदायिक विद्यालयभन्दा सस्तो शुल्कमा गुणस्तरीय शिक्षा आधुनिक पद्धतिबाट पढाईने भएकै कारण यस क्षेत्रका अभिभावक र विद्यार्थी माझ विद्यालय लोकप्रिय बन्न थालेको हो ।

विद्यालयका प्राचार्य शंकरकुमार आचार्यले विद्यालयको सफलताको पहिलो श्रेय व्यवस्थापन समिति र शिक्षकको भएको बताए ।

विद्यालयको भौतिक पूर्वाधार, विद्यार्थी संख्या, शैक्षिक गुणस्तर, सिर्जनात्मक क्रियाकलापलगायतका पक्षका आधारमा उच्च माध्यमिक शिक्षा परिषद्ले यो विद्यालयलाई मध्य तराईकै उत्कृष्ट उच्च माविका रुपमा घोषित गरेको थियो ।

यो विद्यालयले विज्ञान, बाणिज्य, शिक्षा र मानविकी संकायको कक्षा सञ्चालन गरिरहेको छ ।

भौतिक संरचना र शैक्षिक मापदण्ड पूरा गरेपछि यो विद्यालय उत्कृष्ट बन्न सफल भएको शिक्षा कार्यालयका स्रोत व्यक्ति तिलकबहादुर खड्काले बताए ।

वि.स. २०१४ सालमा प्राथमिक तह सञ्चालन गर्दै स्थापना भएको यो विद्यालयले २०५४ सालमा उच्च माध्यमिक तहको सम्बन्धन लिएर पठनपाठन सञ्चालन गर्दै आएको छ ।

२०६८ सालदेखि नै अंगेजी माध्यमबाट कक्षा सञ्चालन गर्न सुरु गरेको विद्यालयमा हाल १ हजार ५ सय विद्यार्थी छन् ।

यहाँ अध्ययन गर्ने विद्यार्थीहरु पनि विद्यालयको शैक्षिक वातावरणप्रति सन्तुष्ट देखिएका छन् ।

विद्यालयले कक्षा ९ देखि १२ सम्म प्राविधिक शिक्षाको पठनपाठन पनि शुरु गर्ने तयारी गरेको छ ।