३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


मेक्सिकोमा लोपेज ओब्राडोर राष्ट्रपतिमा निर्वाचित, ट्रम्पले दिए बधाइ


0
Shares

काठमाडौं, असार १८ । मेक्सिकोमा आइतबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा वामपन्थी उम्मेदवार आन्द्रेश म्यानुअल लोपेज ओब्राडोर विजयी भएका छन् ।

मेक्सिको सहरका पूर्वमेयर लोपेज ओब्राडोरले ५३ प्रतिशत मत ल्याएपनि औपचारिक घोषणा हुन भने बाँकी छ । प्रतिस्पर्धीले हार स्वीकारेका छन् ।

मेक्सिकोमा सन् १९८० यताको यो सबैभन्दा ठूलो मतान्तरको जित भएको बताइएको छ ।

लोपेज ओब्राडोरले भ्रष्टाचारविरुद्ध सशक्तरुपमा प्रस्तुत् हुने बताउँदै मुलुकमा अब सकारात्मक परिवर्तन आउने बताए ।

६४ वर्षीय ओब्राडोरले ज्येष्ठ नागरिकले पाउँदै आएको पेन्सन दोब्बर बनाउने र अमेरिकासँग मित्रवत् सम्बन्ध राख्ने प्रतिबद्धता व्यक्त गरे ।

हिंसा नियन्त्रणका लागि युनिफाइड कमान्डअन्तर्गत् काम गरिने पनि उनले बताए ।

मेक्सिकोमा करिब एक शताब्दीसम्म शासन गरेका दुई पार्टीकोमात्रै सत्ता यात्रामा अब रोक लागेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमार्फत् लोपेज ओब्राडोरलाई मेक्सिकोको नयाँ राष्ट्रपति बनेकामा बधाइ दिएका छन् ।

अमेरिकामा ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएयता दुई मुलुकको सम्बन्ध चिसिएको छ ।

ट्रम्पले मेक्सिकोसँगको व्यापार र आप्रवासनको विषयलाई लिएर आलोचना गर्दैै आएका छन् ।

गठबन्धनले तल्लो सदनमा बहुमत ल्याएको छ भने ‘सिनेट’मा पनि बहुमत ल्याउने सम्भावना छ ।

चुनावी अभियानकाक्रममा भने अहिलेसम्मकै खराब राजनीतिक हिंसा मच्चिएको थियो ।

गत सेप्टेम्बरयतामात्रै १३० भन्दा बढी उम्मेदवार र राजनीतिक कार्यकर्ताको हत्या गरिएको छ ।

ल्याटिन अमेरिकी मुलुकहरुमा दोस्रो ठूलो अर्थतन्त्र भएको मेक्सिको मुख्य तेल निर्यातकर्ता मुलुक हो ।

४० प्रतिशतभन्दा बढी जनता गरिबीको रेखामुनि रहेको मेक्सिकोमा भ्रष्टाचार र हिंसाको दर उच्च छ । (एजेन्सी)