
काठमाडौं, असार १८ । राष्ट्रियसभाको सोमबारको बैठकमा सांसदहरुले वर्षाको समयमा पहाडमा पहिरो र तराई डुबानको समस्या हुने भएकाले समयमै सचेतना अपनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
विशेष सभामा भाग लिँदै सांसद सुमनराज प्याकुरेलले तराईका जिल्लामा विभिन्न नदीमा पानीको बहाव बढेर डुबानको खतरा बढेको भन्दै रोकथामका लागि समयमै तयारी गर्न सरकारको ध्यानाकर्षण गरे ।
सांसद रामनारायण बिंडारीले ‘भारतले नेपालको सिमानामा ठूल्ठूला बाँध बाँधेका कारण तराईमा प्रत्येक वर्ष डुबानको समस्या हुने गरेको छ’–भने ।
सांसद जीतेन्द्र देवले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणकाक्रममा ‘कनेक्टिभिटी’सँग जोडिएका योजनालाई कार्यान्वयनमा लाँदा गम्भीरता अपनाउन आग्रह गर्दै यस्ता परियोजना ऋणमा चलाउन नहुने सुझाव दिए ।
सांसद वृशेषचन्द्र लालले कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट विजयी भएका रेशमलाल चौधरीलाई निर्वाचन आयोगले निर्वाचित पदाधिकारीको प्रमाण दिनुपर्ने बताए ।
सांसद विमला राई पौडेलले मन्त्रालयस्तरका गाउँमा जाने बजेटलाई एकीकृत गर्नुपर्ने सुझाव दिइन् ।
सांसद बलराम बास्कोटाले एसइई परीक्षाको ग्रेडिङ प्रणालीमा देखिएको कमजोरी केलाउन आग्रह गरे ।
सांसद धनकुमारी खतिवडाले खोकना र बुंगमतीका बासिन्दाले अहिलेसम्म पुनःनिर्माणका लागि दिइने रु तीन लाख अनुदान नपाएको बताइन् ।
सांसद जीवन बुढाले वर्षाले दैलेख, कालिकोट र अछामका विद्यालयका छानो भप्काएको र बालीनाली नस्ट गरेको हुँदा त्यस क्षेत्रका जनताको समस्याप्रति ध्यान दिन सरकारसँग आग्रह गरे ।
सांसद नन्दा चपाइँले सुर्खेतमा संविधानसभा निर्वाचनका बेला तत्कालीन एमालेका ऋषिराज शर्मालाई गोली हानी हत्या गर्ने व्यक्तिलाई पक्राउ गरी कारबाही गर्न माग गरिन् ।
सांसद खेमराज नेपालीले योगमायासहित ६८ जना महिलाले राणाशासनविरुद्ध अरुण नदीमा हामफाल्नुपर्ने कारणकाबारेमा अध्ययन गर्न सरकारसँग आग्रह गरे ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विशेष समयमा उठेका विषयहरुमा सम्बन्धित मन्त्रीले अर्को बैठकमा जवाफ दिने जानकारी गराए । रासस
प्रतिक्रिया दिनुहोस्