Logo ३१ भाद्र २०८२, मंगलबार | Wed Sep 17 2025


चिकित्सा विधेयक छिटो पारित गर्न एमालेको माग


0
Shares

                                                                                  फाइल फोटो
पार्टीका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले सो विधेयकसँग सम्बन्धित विभिन्न माग राखी अनशनमा बसेका प्रा. डा. गोविन्द केसीका मागका सन्दर्भमा बैठकमा छलफल हुँदा सरकारको निस्क्रियताका कारण विधेयक पारित हुन ढिलाइ भएको जिकिर गरेको छ ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ–‘सरकार स्वयंको अकर्मन्यता र दिशाहीनताका कारण आजसम्म पनि विधेयक पारित भएको छैन । यस सम्बन्धमा सरकार र सत्ता गठबन्धनको द्वैध चरित्रप्रति बैठकले गम्भीर आपत्ति प्रकट गरेको छ ।’

एमालेले सो विषयमा आफ्नो दायित्व पूरा नगर्ने र अरु दललाई अनावश्यक लाञ्छित गर्ने काम भएको भनी आपत्ति जनाएको छ ।

प्रा. डा. केसी र उनका प्रतिनिधिसँग वार्ता गरी उचित ढंगले समस्याको समाधान गर्न बैठकले सरकारको ध्यानाकर्षण गराएको सो पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

बैठकले जिल्ला समन्वय समितिमा पार्टीका तर्फबाट भोजपुरका लागि प्रमुखमा लक्ष्मण खड्का तथा उदयपुरमा खड्ग परियार र उपप्रमुखमा गंगा राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै, झापा जिसस प्रमुखमा सोमनाथ भुर्तेल र उपप्रमुखमा मीना पराजुलीलाई उम्मेदवार बनाइने भएको छ । रासस