ओलाङचुङ्गोलामा पुग्यो सडक, तिब्बतसँग जोडियो नेपालको बाटो(भिडियो हेर्नुहोस) « Imagekhabar – Online News Portal of Nepal


ओलाङचुङ्गोलामा पुग्यो सडक, तिब्बतसँग जोडियो नेपालको बाटो(भिडियो हेर्नुहोस)


0
Shares

प्रदेश नम्बर १ को अति दुर्गम यो बस्तीमा राष्ट्रिय सडक सन्जाल पुग्न ढिलो हुने भएपछि स्थानीयले आफ्नै सक्रियतामा चिनियाँ कम्पनीसँग सहकार्य गरी सडक बनाएका हुन् । सडक बनेसँगै ओलाङ्चुङगोलासम्म साना मोटर पनि आउन सक्ने भएको छ ।

ताप्लेजुङ ओलाङचुङका स्थानीयको सक्रियतामा २१ किलोमिटर सडक खनिएको हो । यो सडकले उत्तरी चीनको तिब्बतसँग नेपाललाई जोडेको छ ।

अहिले तिब्बतको रिउ बजार हुँदै ओलाङचुङगोलासम्म गाडी पुगेपछि गोलाका स्थानीय हर्षित बनेका छन् ।

सडक निर्माण भएसँगै तिब्बती सामग्री आयात र उत्पादित सामग्री निर्यात गर्न सहज भएको छ भने विरामी पर्दा उपचारका लागि जान समेत सहज भएको ओलाङचुङगोला टिप्तला मोटरबाटो निर्माण समितिका अध्यक्ष छेतेन शेर्पा बताउँछन् ।

स्थानीयले तिब्बतको सिमाना टिप्तला नाकादेखि ओलाङचुङगोलासम्मको सडक एक करोड ४७ लाख ८३ हजार दुई सय ७६ रुपैयाँ खर्चमा निर्माण गरेका हुन् ।

गाउँमा बाटो नपुग्दा भोग्नु परेको कठिनाइ देखेकै कारण स्थानीय तेन्जिङ उक्यावले ५० लाख रुपैयाँ सडक निर्माणका लागि सहयोग गरेका थिए ।

वालिङ समाज अमेरिकाले २० लाख र वालिङ समाज काठमाडौंको नेतृत्वमा एक करोड २७ लाख रकम संकलन गरी सडक निर्माण गरेको हो ।

अब चार दिन लाग्ने बाटो सडकले जोडिएसँगै एकै दिनमा तिब्बतको रिउ बजार पुगेर सामग्री खरिद गरी फर्कन सकिने भएको छ ।

सडक निर्माणका लागि गाविसले ४३ लाख र संसद् विकास कोषमार्फत १० लाख रुपैयाँ उपलब्ध भएको थियो ।

टिप्तलादेखि २१ किलोमिटर सडक चिनियाँ कम्पनीलाई ११ देखि १६ लाख प्रतिकिलोमिटर निर्माण गर्न जिम्मा दिएको थियो ।

यो सडकलाई उत्तर–दक्षिण ओलाङचुङगोला लोकमार्गले हेर्दै आएकाले आयोजनाकै इलाइमेन्टमा सडक खनिएको छ ।

उत्तर–दक्षिण ओलाङचुङगोला लोकमार्ग आयोजनाले ताप्लेजुङदेखि माथि फक्तालुङ गाउँपालिका ५ तापेथोकसम्म सडक निर्माण गरिसकेको छ ।

१ सय ३३ किलो मिटरमध्ये ३८ किलोमिटर मात्र सडक ट्रयाक खोल्न बाँकी रहेको र सो खनी सकिएपछि झापाको केचनाकवलदेखि सिदै तिब्बतसम्म सडक सञ्जालले जोडिने आयोजना प्रमुख कुवेर नेपालीले बताए ।

दुर्गम गाउँ गोलासम्म सडक सँगै सवारी साधन आउन थाले पछि नेपाली बजारभन्दा चिनियाँ बजार नजिक भएकाले स्थानीयलाई व्यापार व्यवसायका लागि समेत सहज त भएको छ नै बाँकी ३८ किलोमिटर सडक पनि समयमानै सम्पन्न गर्न सके सो सडक मेची राजमार्गमा जोडिने हुँदा चीन–नेपाली–भारत त्रिदेशीय व्यापार गरी आर्थिक विकास गर्न नेपाललाई सहज छ ।

 

“>