
काठमाडौं, जेठ १३ । त्रिभुवन विश्वविद्यालयले परीक्षा नियन्त्रण कार्यालयबाट दिइने कुनै पनि सेवासुविधा २४ घण्टाभित्रै प्रदान गरिने जनाएको छ ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले आइतबार पत्रकार सम्मेलन गरी नयाँ प्रविधि ‘टियू इमिस’ मार्फत, मार्कसिट, ट्रान्स्कृप्ट, र प्रोभिजनल सर्टिफिकेट २४ घण्टाभित्रै उपलब्ध गराउने जनाएको हो ।
यसका साथै रजिस्टे«शन, परीक्षा फारम, नतिजा प्रकाशन पनि सोही प्रविधिमार्फत गरिने बताइएको छ ।
परीक्षा नियन्त्रण कार्यालयले नयाँ प्रविधिको सुरुवात बिएड शाखाबाट गर्दै अन्य संकायमा पनि विस्तार गर्ने जनाएको छ । यसैगरी तत्काल ५ वटा क्याम्पसहरुबाट अनलाइन परीक्षा फर्म भर्न सकिने व्यवस्था गरिएको छ ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीले प्रविधिको न्यून प्रयोगले विद्यार्थीलाई पर्न गएको असुविधा अब हल हुने बताए । उनले केही समयभित्रै आंगिक र सम्बन्धनप्राप्त सबै क्याम्पसलाई प्रविधिमैत्री बनाइनेसमेत स्पस्ट पारे ।
प्रतिक्रिया दिनुहोस्