८ माघ २०८१, मंगलबार | Wed Jan 22 2025


६ हजार ८६७ किलोमिटर प्रसारणलाइन निर्माण गर्ने सरकारको गुरुयोजना


0
Shares

काठमाडौं, असार १७ । सरकारले उत्पादित अधिकांश विद्युत देशभित्रै खपत गर्ने लक्ष्यका साथ गुरुयोजना सार्वजनिक गरेको छ ।

विद्युत उत्पादन, प्रसारण तथा वितरण सम्बन्धी महत्वाकांक्षी लक्ष्यलाई आधार मान्दै उर्जा मन्त्रालयले प्रसारण लाइन विकास गुरुयोजना ल्याएको छ । आगामी २२ वर्ष अर्थात सन् २०४० सम्मलाई लक्षित गर्दै सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादनको लागि प्रसारण तथा वितरणलाइनको गुरुयोजना सार्वजनिक गरेको हो ।

उर्जा मन्त्री वर्षमान पुनले १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादनका लागि आवश्यक १३२ केभीदेखि ४०० केभीसम्मका ६ हजार आठ सय ६७ किलोमिटर प्रासारणलाइन तथा साना ठूला क्षमताका गरि १०३ वटा सवस्टेसन निर्माणको गुरुयोजना सार्वजनिक गरेका हुन् ।

गुरुयोजनामा १३२ केभीको दुई हजार पाँच सय १५ किलोमिटर प्रसारणलाइन बनाउने योजना छ । २२० केभीको एक हजार एक सय ६० किलोमिटर र ४०० केभीको तीन हजार एक सय ९२ किलोमिटर लामो प्रसारणलाइन बनाउने योजना सरकारको छ ।

गुरुयोजनामा भारततर्फ ६ र चीनतर्फ २ वटा अन्तरदेशीय प्रसारणलाइन निर्माण गर्ने योजना अघि सारिएको छ । गुरुयोजना कार्यान्वयन गर्न करिब ६ खर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।

यसका लागि सरकार, निजी क्षेत्र र विदेशी दातृ निकायको सहयोग आवश्यक पर्ने मन्त्रालयले जनाएको छ ।