यी हुन् नयाँ जीवित देवी कुमारी, यसरी छानिन्छ नयाँ कुमारी, यस्तो हुनुपर्छ गुण (भिडियो) • Image Khabar Image Khabar


यी हुन् नयाँ जीवित देवी कुमारी, यसरी छानिन्छ नयाँ कुमारी, यस्तो हुनुपर्छ गुण (भिडियो)


Imagekhabar
१२ आश्विन २०७४, बिहीबार १८:४३

यी हुन् नयाँ जीवित देवी कुमारी, यसरी छानिन्छ नयाँ कुमारी, यस्तो हुनुपर्छ गुण (भिडियो)

गणतन्त्र स्थापनापछिको पहिलो कुमारी मतिना शाक्यको उमेर १२ वर्ष पुगेकाले बिहीबार महाअष्टमीका दिन शाक्यलाई परिवर्तन गरी ३ वर्षीया बालिका तृष्णा शाक्यलाई राष्ट्रिय जीवित देवी कुमारीकारुपमा प्रतिस्थापन गरिएको हो ।

महिनावारी सुरु हुनेबेला भएपछि कुमारी परिवर्तन गर्ने परम्पराअनुसार वैदिक, तन्त्र तथा बज्रयानी र शाक्त विधिअनुरुप तलेजु भवानी मन्दिरमा नयाँ कुमारी तृष्णा शाक्यलाई विशेष पूजा गरी कुमारीघर भित्र्याइएको हो ।

गत सोमबार मञ्जुश्री नक महाविहारका विजयरत्न र सिर्जना शाक्यकी छोरी तृष्णालाई गुठी संस्थान, तलेजु भवानी मन्दिरका मूलपुजारी, राजगुरुजु, चिताइदार, राजज्योतिष र शाक्य महाविहार संघका प्रतिनिधिले नयाँ कुमारी घोषणा गरेका थिए ।

नयाँ कुमारीलाई कुमारीघरमा ९ ग्रहमाथि रहेको मयूरको स्वर्णसिंहासनमा राखेर तान्त्रिकरुपमा पूजा गरी विधिवत् रुपमा राष्ट्रिय देवी जीवित कुमारी बनाइएको हो ।

त्यसपछि पुरानी कुमारी मतिनालाई कुमारीघरको पूर्व ढोकाबाट राजकीय सम्मानका साथ बिदाइ गरिएको थियो ।

सांस्कृतिक बाजागाजाका साथ नगरपरिक्रमा गराइ पुरानी कुमारीलाई इतुम्बुहालस्थित आफ्नो घर पुर्‍याइएको थियो ।

काठमाडौंका १८ ओटा महाविहारमध्ये शाक्य वंशको ३२ लक्षणयुक्त कन्यालाई कुमारी बनाउने परम्परा छ । दुई/तीन महिनाअघि १८ विहारमा गोप्यरुपमा कुमारी छनोट प्रक्रिया सुरु गरिन्छ । सबै विहारबाट मनोनीत भएर आएका कन्याको चिना राजज्योतिषलाई देखाइन्छ ।

तलेजु भवानीका पुजारी र राजज्योतिषले घाउचोट नलागेका र ३२ लक्षणयुक्त एक कन्यालाई कुमारीमा छनोट गर्ने गरिन्छ ।

कुमारी हुन कपाल लामो र कालो, अनुहार गहुँगोरो, तेजिलो, दाँत पूरा भएको, निडर, शरीरमा दाग नभएको, आँखाको तेजलगायतका गुण हुनुपर्छ ।

छानिएकी नयाँ कुमारीलाई पुजारीसहित राष्ट्रप्रमुखकहाँ महाअष्टमीको दिन कुमारी देवी परिवर्तन गर्ने भनेर प्रस्ताव राखिन्छ ।

यही परम्पराअनुसार गत मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग नयाँ कुमारी तृष्णाको परिचय गराइएको थियो ।

इन्द्रजात्रा, घोडेजात्रा, मच्छिन्द्रनाथ जात्रालगायत गरी १३ पटक कुमारीघरबाट कुमारीको रथायात्रा निकालिन्छ । कुमारीको परम्परा लिच्छविकालबाट सुरु भएको मानिन्छ ।

लिच्छवि राजा गुणकामदेवले कन्या केटीलाई कुमारी बनाइ पूजा गर्ने परम्परा बसाएको मानिन्छ ।

कुमारीघर निर्माण र रथयात्रा थालनीको व्यवस्था भने २५८ वर्षअघि राजा जयप्रकाश मल्लले गरेका हुन् ।

तान्त्रिक बन्धुदत्त बज्राचार्यले आफ्नै छोरीलाई बुङ्मतीमा कुमारीकारूपमा प्रतिस्थापन गरेकोसमेत भनिन्छ ।

बसन्तपुरको घरमा प्रतिस्थापित कुमारीलाई इष्टदेवी तुलजा भवानीको प्रतीककारूपमासमेत मानिँदै आएको छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्