२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


बुटवल-तानसेन सडकको विजोग, यात्रुलाई हैरानी (भिडियो)


0
Shares

पहाडबाट झरेको चट्टाने पहिरो र ठूल्ठूला ढुंगाका कारण सडक अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका यात्रु समस्यामा परेका हुन् ।

निरन्तरजसो झर्ने पहिरोले सडक खुलाउन सडक डिभिजन कार्यालयले प्रयोग गरेको डोजर र स्काभेटर प्रयोग पनि नाकाम बन्ने गरेको हो ।

गन्तव्यमा पुग्न हतारिएकाहरुलाई पहिरो बाधक मात्र बनेको छैन बीच बाटोमै बास बस्नुपर्ने झन्झटसमेत थपिदिएको छ ।

सिद्धबाबा क्षेत्रमा सुरुङ मार्गदेखि वैकल्पिक मार्ग बनाउने नेताहरुको बाचा फगत चुनावी भाषणमा सीमित बनेको छ ।

सडक डिभिजन कार्यालय पाल्पा सडक सञ्चालनका लागि सबै प्रयास भइरहेको त जनाउँछ तर उसका प्रयासलाई पहिरोले टेरेको छैन ।

सडक सञ्चालनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्लाको सबै जनशक्ति परिचालन गरेको बताउँछ ।

बुटवल–तानसेन सडकखण्ड हुँदै पाल्पा, स्याङ्जा, कास्की, पर्वत, बागलुङ, गुल्मीलगायत जिल्लामा दैनिक हजारौं सवारी साधन चल्छन् ।

यो कुनै एक वर्षको पीडा होइन । यो त वर्षेनी यस क्षेत्रका जनताले खेप्नु परेको नियती हो । जसमा परेर अनाहकमा यात्रुले ज्यान गुमाइरहेका छन् ।

यस वर्ष मात्र चार जनाको मृत्यु भइसकेको छ । उत्तर–दक्षिण जोड्ने ५ नम्बर प्रदेशको मुख्य राजमार्गको रुपमा रहेको यस सडकको सिद्धबाबा क्षेत्रमा वैकल्पिक मार्ग निर्माणका लागि सरकारले चाँडै पहल गर्नुपर्ने सर्वसाधारणको माग छ ।