Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


प्रदेश राजधानीका लागि डोटीवासी आन्दोलित


0
Shares

यसैक्रममा बिहीबार दिपायलमा र्‍यालीसहित कोणसभाको आयोजना गरिएको छ ।

कोणसभालाई सम्बोधन गर्ने अधिकांश वक्ताहरुले दिपायललाई प्रादेशिक राजधानी कायम नगरिए कडा आन्दोलनमा उत्रने चेतावनी दिए ।

सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस डोटीका सभापति प्रदीप देउवाले ७ नम्बर प्रदेशको राजधानी दिपायल मागमात्रै नभएर अधिकार भएको बताए ।

‘सबै दृष्टिकोणबाट राजधानी दिपायल नै उपयुक्त छ’–उनले भने ।

संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाको निर्णयानुसार प्रदेशको राजधानी तोकिनेछ । तर, प्रदेशसभाले राजधानी नतोकेसम्मका लागि सरकारले नै राजधानी तोक्ने व्यवस्था छ ।

सोहीअनुसार अहिले प्रदेशको अस्थायी राजधानी तोक्ने चर्चा चलिरहेका बेला दिपायलवासी तातेका हुन् ।

‘सरकारले अस्थायी राजधानी अहिले दिपायल नै तोक्नुपर्छ भन्ने हाम्रो माग हो’–कोणसभालाई सम्बोधन गर्दै प्राध्यापक डण्डिराज ओझाले भने–‘अहिले अस्थायी राजधानी तोकिएपछिमात्र पछि स्थायी सम्भव छ । अहिल्यै दिपायलको विकल्प खोज्न थालिए त्यसको नतिजा दुखद् नै हुन्छ ।’

दिपायल राजधानीका लागि गठन गरिएको संघर्ष समितिका संयोजक डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले अधिकारको लडाइँमा डोटेली जनता होमिसकेको बताए ।

यसअघि पनि डोटीवासीले निरन्तररुपमा राजधानीको मागसहित दबाबमूलक कार्यक्रमहरु गर्दै आएका छन् ।

नगरप्रमुखद्वारा राष्ट्रपतिलाई ज्ञापन
भ्रमणकाक्रममा शैलेश्वरी मन्दिर दर्शन गर्न पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिहीबारै दिपायल सिलगढी नगरपालिकाकी प्रमुख मञ्जु मलासीले ७ नम्बर प्रदेशको राजधानी दिपायलका लागि ज्ञापनपत्र बुझाएकी छन् ।