२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


न्यायको झिनो आशा


0
Shares

गृष्मा राजभण्डारी (इमेज)

काठमाडौं, पुस २३ । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको पाँच महिना बितिसक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन ।

हत्याको छानबिन गर्न सरकारले बनाएका कुनैपनि समितिले दोषी पत्ता लगाउन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अब त्यसको जिम्मेवारी आफैंले लिने उद्घोष गरेका छन् ।

योसँगै निर्मलाले न्याय पाउने झिनो आशा त पलाएको छ तर त्यसका लागि कति समय लाग्छ भन्ने अझै टुंगो लागेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्नेक्रममा राखेको भनाइले निर्मला पन्त हत्याकान्डलाई फेरिपनि झक्झकाएको छ ।

निर्मलाको हत्याकान्डको विषयलाई सरकारले छानबिन गर्न नसकेको भन्दै चर्को आलोचना भएपछि प्रधानमन्त्री ओलीले त्यसको जिम्मा सरकारको भएको भन्दै अनावश्यक हल्ला गर्नुको औचित्य नभएको बताए ।

निर्मलाकोमात्र होइन, जुनसुकै घटनाको छानबिन गर्ने जिम्मेवारी पनि सरकारकै हो ।

तर, सरकारले घटनाको छानबिन गरी दोषी पत्ता लगाउन नसकेपछि आएका विरोधका स्वर साम्य पार्न अनावश्यक हल्ला गर्नुको औचित्य नभएको र त्यसको जिम्मेवारी सरकारको भएको प्रधानमन्त्रीको कथनले घटना छानबिनमा अझै ढिला हुने संकेत दिएको छ ।

यो घटनाका विषयमा सरकारका मन्त्रीहरुले यसअघि दिँदै आएका अभिव्यक्ति पनि विवादमा परेका थिए ।

यसअघि, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले निर्मलाको हत्यारा पत्ता लागिसकेको दाबी गरेका थिए ।

निर्मलाको हत्या भएको साढे पाँच महिना पुग्दा पनि हत्यारा पत्ता लाग्न सकेका छैनन् । घटना छानबिन गर्न सरकारले पटक–पटक टोलीहरु गठन गरिसकेको छ ।

नेपाल प्रहरीका प्रमुख स्वयं घटनास्थलमा खटिएर अनुसन्धानमा सक्रिय छन् । प्रहरीका उच्च अधिकारी सम्मिलित टोलीहरु पनि अनुसन्धानमा सक्रिय छन् ।

गृह मन्त्रालयले गठन गरेको टोलीले पनि अनुसन्धान गरिसकेको छ । तर, कुनैपनि टोली हत्याराको नजिक पुग्न सकेका छैनन् ।

राजनीतिक नेतृत्वको इच्छाशक्तिको कमीकै कारण दोषी पत्ता लाग्न नसकेको आरोप लाग्दै आएको छ ।

निर्मलाको हत्याको घटना अनुसन्धान गर्दा प्रारम्भमै प्रहरी चुकेका कारण यसको चुरो कुरा पत्ता लाग्न नसकेको हो ।

प्रहरी अतिरिक्त महानिरीक्षक धीरु बस्नेत नेतृत्वको टोलीले यही पुस २ गते घटनाबारे सत्यतथ्यसहितको प्रतिवेदन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बुझाएको छ । त्यसमा प्रहरीका तर्फबाट भएका त्रुटिलाई जस्ताको तस्तै समेटिएको छ । तर, गल्ती गर्ने प्रहरीमाथि थप छानबिन हुन सकेको छैन ।

पीडित पक्षले अनुसन्धानमा लापरबाही गर्नेहरुमाथि किटानी जाहेरी दिएपनि त्यसमाथिसमेत कारबाही अघि बढ्न सकेको छैन ।

प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्नेक्रममा निर्मला पन्त हत्याकान्डको छानबिनको जिम्मेवारी स्वयं आफूले लिएको बताएका छन् ।

उनको यो भनाइले निर्मलाले न्याय पाउने झिनो आशा भने पलाएको छ । तर, ‘न्यायमा ढिलाइ हुनु न्याय नदिनुसरह नै हो’ भन्ने उक्तिलाई बुझेर सरकारले तत्काल निर्मलाका हत्यारा पत्ता लगाउनुपर्छ ।

भिडियो हेर्नुहोस्