
वासिंटन, पुस २० । अमेरिकी संसदको तल्लो सदन ‘हाउस अफ रेप्रिजेन्टेटिभ्स’को सभामुखमा डेमोक्र्याटिक पार्टीकी न्यान्सी पेलोसी पुनः चयन भएकी छन् ।
राष्ट्रपति डोनल्ड ट्रम्पविरोधी प्रखर वक्ता न्यान्सी पेलोसीलाई तल्लो सदनले सभामुखमा चयन गरेको हो । क्यालिफोर्निया राज्यबाट डेमोक्र्याटिक पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने पेलोसी यसअघि पनि दुई पटक सभामुख भइसकेकी छन् ।
अमेरिकी तल्लो सदनको चार वर्षे कार्यकालका लागि गत नोभेम्बरमा चुनाव भएको थियो । उक्त चुनावमा रिपब्लिकन पार्टीले बहुमत गुमाएको थियो ।
सभामुखमा चयन भएपछि पेलोसीले सदन र सरकारलाई जिम्मेवार बनाउन आफूले भूमिका निर्वाह गर्ने बताएकी छन् । उनले प्रगतिशील एजेन्डालाई अघि बढाउँदै राष्ट्रपति ट्रम्पले गरेका कतिपय अलोकप्रिय निर्णयलाई रोक्ने प्रतिबद्धतासमेत व्यक्त गरिन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्