Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


देशभरका ३६१ खेलाडी काँग्रेसमा प्रवेश, काँग्रेसलाई जिताउन देउवाको आग्रह


0
Shares

नेपाल तेक्वान्दो संघका खेलाडीलाई काँग्रेसमा प्रवेश गराउन यहाँ आज आयोजित कार्यक्रममा उनले मानवाधिकार, प्रेस स्वतन्त्रता र व्यक्तिको स्वतन्त्रताको हक लोकतन्त्रमा मात्र सुरक्षित हुने बताए ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन लोकतन्त्र रोज्ने कि कम्युनिष्ट शासन रोज्ने जनमत भएको विचार व्यक्त गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्रको रक्षा काँग्रेसले मात्र गर्न सक्छ भने।

कम्युनिष्ट शासन आए लोकतन्त्र समाप्त हुनेछ भन्दै उनले यस जटिल घडीमा काँग्रेसलाई साथ दिन जनतालाई आग्रह गरे ।

कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको सुदृढीकरणका लागि काँग्रेस सदैव कटिबद्ध रहँदै आएको बताउँदै आगामी निर्वाचनमा जनताले प्रजातान्त्रिक शक्तिलाई साथ दिनुपर्ने धारणा व्यक्त गरे ।

विश्वमा असफल भइसकेको साम्यवाद केही कम्युनिष्ट दलले नेपालमा लागू गर्ने प्रयास गरेको बताउँदै वरिष्ठ नेता पौडेलले त्यसलाई कदापि सफल हुन नइिदने दृढता व्यक्त गरे ।

कार्यक्रममा काँग्रेस नेता एवं युवा तथा खेलकुदमन्त्री राजनकुमार केसीले लोकतन्त्र र काँग्रेसलाई बलियो बनाउन सम्पूर्ण प्रजातान्त्रिक शक्ति एक हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा तेक्वान्दो संघका संस्थापक दीपराज गुरुङ, संघका महासचिव कमलराज गुरुङलगायत मुलुकभरका ३६१ खेलाडी काँग्रेसमा प्रवेश गरेका थिए।

उनीहरुलाई काँग्रेस सभापति देउवाले अबिरमाला लगाई पार्टीमा प्रवेश गराएका थिए ।