Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


लुम्बिनीलाई शान्ति सहर बनाउन सकिन्छ : ओली


0
Shares

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि वाम गठबन्धनको बहुमतको सरकार बन्ने दाबी गर्दै उनले लगानी गर्न उद्योगीहरुलाई तयार रहन आग्रह गरे ।

उद्योग व्यापार संघठन रुपन्देहीले भैरहवामा सन्चालन गरेको औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको सोमबार समापन कार्यक्रममा बोल्दै उनले निर्वाचनपछि बन्ने सरकारले निजी क्षेत्रको लगानी संरक्षण गर्दै पुँजी परिचालन गर्ने बताए ।

अध्यक्ष ओलीले बुद्ध जन्मस्थल लुम्बिनीलाई शान्ति सहरकोरुपमा विकास गर्न सकिने बताए ।

उनले भैरहवा ऐतिहासिक र पुरानो व्यापारिक केन्द्र भएको उल्लेख गर्दै बेलहियालगायतका भन्सार नाकाहरु व्यवस्थित गर्नुपर्ने, निर्माणाधीन गौतमबुद्ध विमानस्थल र बेलहिया–बुटवल ६ लेन सडक छिटो पूरा गर्नुपर्नेमा जोड दिए ।

विकास निर्माणका कार्य सन्चालनका लागि सस्तोदरमा ऋण लिएर र वैदेशिक सहयोग जुटाएर बजेटको कमी हुन नदिने नीति एमालेको रहेको उल्लेख गर्दै उनले संयुक्त राष्ट्रसंघले तोकेको दीगो विकास लक्ष्य पूरा गर्न तीव्र औद्योगिकरण गर्नुपर्ने बताए ।

राष्ट्रिय एकता, शान्ति, स्थायित्व र विकासप्रेमी सरकार बनाउन सबै उद्योगीलाई सहयोग गर्न आग्रह गर्दै उनले राजनीतिक स्थायित्व नहुँदा विकास र समृद्धिका काम गर्न नसकेको टिप्पणी गरे ।

मेला, महोत्सवहरु सन्चालन गर्न सरकारले स्थायी जग्गा र संरचनाहरुको व्यवस्था गर्नुपर्ने ओलीको भनाइ थियो ।

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रीय अध्यक्ष श्यामबहादुर पाठकले आत्मनिर्भर र स्वाधीन अर्थतन्त्र बनाउन देशभित्रको आन्तरिक उत्पादन बढाउनुपर्नेमा जोड दिए ।

यस्तै, सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि अधिकारीले उद्योगी–व्यवसायीका समस्या दीर्घकालीनरुपमा समाधान गर्नका लागि स्थीर सरकार आवश्यक पर्ने भएकाले आगामी मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा विवेक प्रयोग आग्रह गरे ।

उद्योग व्यापार संगठन रूपन्देहीको आयोजनामा भैरहवामा भएको चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव १५ करोड रुपैयाँको आर्थिक कारोबार गर्दै सोमबार समापन भएको हो ।

‘राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र : राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधिकरण’ नारासहित कात्तिक ३० गतेदेखि सन्चालित मेला करिब डेढ लाख दर्शकले अवलोकन गरेको जनाइएको छ ।