पक्राउ परेकाहरु प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन बिथोल्न काठमाडौं उपत्यकाका विभिन्न मतदान केन्द्र, महत्वपूर्ण स्थान र उम्मेदवारलाई लक्षित गरी बम विस्फोट गराउने योजनामा संलग्न रहेका प्रहरीले जनाएको छ ।
उपत्यकाका विभिन्न स्थानमा विस्फोट गराउने उद्देश्य रहेकामा उनीहरुको गिरफ्तारीले सो योजना विफल भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सर्लाही, ईश्वरपुर, लामिदमारका रवि गोले, सिन्धुली, कयानेश्वर–९ मोक्तानडाँडाका सम्पूर्ण मुक्ति भन्ने विचारमान तामाङ, मकवानपुर, हेटौंडाका रोह नेपाली भन्ने महेश नेपाली, काभ्रे, मादनकुँडारी गाउँपालिका–८ चौरी देउरालीका विगेश लामा, नुवाकोट, लिखु नगरपालिका थानापतिका राजीव तामाङ र दोलखा, तामाकोसी गाउँपालिका–५ का रोशन विष्ट रहेका छन् ।
एकथान पेस्तोल र विस्फोटक पदार्थसहित उनीहरुलाई बुधबार प्रहरीले राजधानीका विभिन्न स्थानबाट पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।
उनीहरु उम्मेदवारलाई लक्षित गर्दै यसअघि भएका विस्फोटका घटनामा संलग्न रहेको प्रहरीको भनाइ छ ।
पक्राउ परेकाहरुले हातहतियार तथा विस्फोटक पदार्थ संकलन, भन्डारण तथा विभिन्न स्थानमा विस्फोट गराएको तथा विस्फोटनको योजना बनाएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक मनोज न्यौपानेले जानकारी दिए ।






प्रतिक्रिया दिनुहोस्