Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


जीवनराम श्रेष्ठको यात्रा: खेलकुद क्षेत्रदेखि संसद्सम्म


0
Shares

 

यही मंसिर २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा उनी काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनका उम्मेदवार भई निर्वाचित भएका छन् ।

उनले १३ हजार ३९७ मत प्राप्त गरी संसद्मा प्रवेश गर्नका लागि जनादेश पाएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नवीन्द्रराज जोशीले १२ हजार ९५३ मत प्राप्त गरेका छन् ।

सोही क्षेत्रमा विसं २०६४ र २०७० बाट निर्वाचित जोशी लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार छन् ।

विसं २०२२ पुस १५ गते काठमाडौँमा जन्मिएका श्रेष्ठले विसं २०४२ देखि नेकपा (माले)मा प्रवेश गरेर राजनीति शुरु गरेका हुन् ।

उनी २०७० मा भएको दोस्रो संविधानसभाको चुनावमा जोशीको निकटतम प्रतिद्वन्द्वी भएका थिए ।

तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको स्थापना हुँदा श्रेष्ठ सदस्य, केन्द्रीय सचिव, विदेश विभाग प्रमुख हुँदै केन्द्रीय उपाध्यक्षसम्म बनेका थिए ।

नेकपा (एमाले) को बुटवलमा सम्पन्न आठौँ महाधिवेशनले उनलाई वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी प्रदान गरेको थियो ।

उनले राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवमा विसं २०५३ र २०६४ मा गरी दुई पटक जिम्मेवारी वहन गरिसकेका छन् । अहिले उनी नेपाल ओलम्पिक कमिटीका अध्यक्षको जिम्मेवारीमा रहेका छन् ।

काठमाडौं महानगरपालिकाका १३, १५, १९, २०, २३ र २४ वडा तथा नागार्जुन नगरपालिकाका ४ र ५ वडासमेत उक्त क्षेत्रमा पर्छ ।

विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्र र स्वयम्भूनाथ चैत्य तथा जीवित देवी कुमारीलाई राख्ने घर, लाखेघर, जनकनन्दिनी सीताले टेकेको पवित्र भूमि सीतापाइला, तलेजु मन्दिर जस्ता सम्पदा र इन्द्रजात्रालगायत विभिन्न जात्रापर्वको प्रचलन रहेको त्यस क्षेत्रमा श्रेष्ठ निर्वाचित भएको खबर आएपछि विजय जुलुस शुरु भएको छ ।

श्रेष्ठले आफू निर्वाचित भएपछि रासससँग कुरा गर्दै उक्त क्षेत्रलाई सम्पदास्थलका रुपमा विकास गर्नाका साथै भूकम्पले भत्किएका सम्पदास्थल तथा भूकम्पबाट धरापमा परेका निजी घरको व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए ।

संयुक्त वाम गठबन्धनको घोषणापत्रलाई कार्यान्वयन गर्ने सन्दर्भमा आफूले भूमिका निर्वाह गर्ने बताउँदै उनले स्थानीयवासीलाई सीपमूलक तथा आयआर्जनका परियोजना उपलब्ध गराइने वचन दिए ।

नेता श्रेष्ठले खेलकुद क्षेत्रको विकासमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रबाट सहयोग जुटाउने बताउँदै नेपाल ओलम्पिक कमिटीका नेतृत्वमा डल्लु आवासमा करिब रु पाँच करोडको लागतमा कभर्ड हल निर्माण गरिने पनि जानकारी दिए ।