Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


पोखरा सडक महोत्सव सुरु, के–के हुँदैछ ? (६ तस्वीर)


0
Shares

‘सडकमै खाऊँ, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने मुल नारासहित रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले आयोजना गरेको महोत्सवको कास्की–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रवीन्द्र अधिकारीले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै निर्वाचित सांसद अधिकारीले सरकारको ध्यान पर्यटन प्रवद्र्धन गर्दै धेरै पर्यटक पोखरा भित्र्याउने हुनुपर्नेमा जोड दिए ।

उनले चीनसँगको नाका खोलिएसँगै पोखरामा चिनियाँ पर्यटकको चहल–पहल बढ्ने विश्वास पनि व्यक्त गरे ।

महोत्सवस्थल लेकसाइडको करिब साढे तीन किलोमिटर क्षेत्रलाई ‘दुलहीझैं’ सिंगारिएको छ ।

पुस १७ गतेसम्म चल्ने महोत्सव अवधिभर रेस्टुरेन्ट तथा पसलहरुले सडकबाटै सेवा दिने रेवान अध्यक्ष चौबहादुर गुरुङले बताए ।

महोत्सवमा आन्तरिकदेखि बाह्य पर्यटकको ठूलो भीड लाग्ने अपेक्षा आयोजकको छ । भीड नियन्त्रणका लागि सोहीअनुसार व्यवस्थापन गरिएको जनाइएको छ ।

सो क्षेत्रमा महोत्सव अवधिभर सडकमा कुनै किसिमका सवारी–साधन सन्चालन हुनै छैनन् । ठाउँठाउँमा विभिन्न साँस्कृतिक कार्यक्रमका साथै कन्सर्टको व्यवस्थासमेत मिलाइएको छ ।

महोत्सवका अवसरमा पोखराका होटलहरु भरिभराउ भएका छन् । सानादेखि तारे होटलमा अग्रिम बुकिङ भइसकेको पर्यटन व्यवसायी नरेश भट्टराईले जानकारी दिए ।

महोत्सवमा जापान, चीन, दक्षिण कोरिया, भारतका साँस्कृतिक कार्यक्रमहरु मुख्य आकर्षणकारुपमा रहेको व्यवसायी बलराम पहारीले बताए ।

नेपालका सातओटै प्रदेशका साँस्कृतिक कार्यक्रम महोत्सवमा हुनेछ ।

प्रदेश नम्बर–१ बाट सतार जातिको साँस्कृतिक कार्यक्रम, प्रदेश–२ बाट मैथली कार्यक्रम, प्रदेश–३ बाट नेवार जातिको, ४ बाट गुरुङ, ५ बाट बर्दियाको थारु जाति, ६ बाट हुम्लाको हुम्लेली जातिको र ७ बाट डडेल्धुराको देउडा जातिको साँस्कृतिक कार्यक्रम एकै स्थानमा हेर्न पाइने जनाइएको छ ।

‘अफ सिजन’मा पनि पर्यटक भित्र्याउन रेवान पोखराले अंग्रेजी नयाँवर्षको अवसरमा सडक महोत्सवको आयोजना गर्दै आएको छ ।

महोत्सवबाट विभिन्न क्षेत्रका व्यवसायीहरु एअरलाइन्स, ट्राभल एजेन्सी, बस, बञ्जीजम्प, पाराग्लाइडिङ, जिप फ्लायरमा पनि राम्रो कारोबार हुने व्यवसायीको अपेक्षा छ ।

महोत्सवमा पोखरामा ‘साइट सिन’ गर्नेहरुका लागि हेलिकोप्टरकोसमेत व्यवस्था गरिएको छ ।

महोत्सव उद्घाटन कार्यक्रममा पोखरा–लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, निर्वाचित प्रदेश सांसद विन्दुकुमार थापा, राजीव पहारी, पोखरा पर्यटन परिषदका अध्यक्ष केदार शर्मा, क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल, प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, रेवानका उपाध्यक्ष लक्ष्मण बराललगायतले बोलेका थिए ।