नेपालका तर्फबाट नापी विभागका प्रमुख नापी अधिकृत सुदर्शनसिं धामी र भारतका तर्फबाट देहरादुन नापी कार्यालयका प्रमुख आरसिं भट्टको नेतृत्वको टोलीले भारतसँग सीमा जोडिएको कैलालीको पूर्वी खक्रौला सीमा नाकादेखि कन्चनपुरका पुरानो सीमा बजार ब्रह्मदेव नाकासम्मका सीमास्तम्भको अवस्था अध्ययन गर्न लागेको हो ।
कैलाली जिल्लाको सुरुआतको ७०० नम्बरको सीमा स्तम्भदेखि ब्रह्मदेव नजिकको सीमामा रहेको ८११ नम्बरसम्मका सीमा स्तम्भको अवस्था, भत्केका बिग्रेका फेला पारेको पाइएमा तिनको पुनःनिर्माणको पहल गर्ने अधिकार सर्भे टोलीलाई दिइएको छ ।
‘दुवै देशका संयुक्त टोलीले यी काम संयुक्तरुपमा गर्ने गरी काम भइरहेको छ’– धामीले भने ‘सीमास्तम्भ बारेको तथ्यांक दुवैतर्फका टोलीले रुजु गरी दुरुस्त भएमा मात्र मर्मत गर्नुपर्ने भए मर्मत गर्ने पुनःनिर्माण गर्नुपर्ने भए पुनःनिर्माण गरिनेछ ।’
विवादित क्षेत्र पाइएमा यस्ता क्षेत्रका सीमास्तम्भका बारेमा दुवै देशका माथिल्लो निकायकाबीच हुने सहमतिबमोजिम काम अघि बढ्ने जनाइएको छ ।
यो टोलीलाई ७ नम्बर प्रदेशका कैलाली, कन्चनपुर, डडेलधुरा, बैतडी र दार्चुला जिल्लामा पर्ने नेपाल–भारत सीमास्तम्भको सर्भेसम्बन्धी काम गर्ने अधिकार दिइएको छ ।
गत भदौमा भारतको देहरादुनमा बसेको दुवै देशका नापी अधिकारीको बैठकले गरेको निर्णयबमोजिम संयुक्त नापी टोलीले सर्भेसम्बन्धी काम थालेको हो ।
कैलाली जिल्लाको तुलनामा कञ्चनपुरका दक्षिणी सीमा क्षेत्रमा सीमासम्बन्धी विवाद बढी छ । कैलालीको नेपाल–भारत सीमा क्षेत्रमा ५३ ओटा मुख्य सीमा स्तम्भ (जंगे पिलर) र २८२ सहायक र सामान्य सीमास्तम्भ रहेको धामीले बताए ।
यसैबीच, दुवै देशका स्थानीय अधिकारीको नेतृत्वमा बुधबार लखिमपुर खिरीको पलिया बजारमा सीमा समन्वय बैठकसम्पन्न भएको छ । बैठकमा सीमा सर्भेको कामलाई दुवै देशका अधिकारीले सहयोग पुर्याउने लगायतका विषयमा समझदारी भएको जनाएको छ । रासस










प्रतिक्रिया दिनुहोस्