२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


हत्याको छानबिन गर्न माग गर्दै प्रहरीवृत्त घेराउ


0
Shares

माटो व्यवसायी चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने ५५ वर्षीय सीताराम सैंजुको भक्तपुर नगरपालिका–९ ब्रह्मायणीमा मंगलबार राति भएको हत्यामा संलग्न मुख्य दोषी फरार रहेको भन्दै मृतकका आफन्तले निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

प्रहरीले हत्यामा संलग्न रहेको अभियोगमा ओखलढुंगा, सिस्नेरी–८ घर भएकी ३० वर्षीया रीता राई र हत्याका प्रत्यक्षदर्शी काभ्रे, देउपुर–मन्डन घर भइ ब्रह्मायणी मन्दिरमा बस्दै आएका ७० वर्षीय रामबाबु लामालाई पक्राउ गरेर सार्वजनिक गरेको थियो ।

प्रहरीले मुख्य दोषीलाई उम्काउन खोजेर मानसिक सन्तुलन ठीक नभएको महिलालाई दोषी बनाएर अनुसन्धानबाटै पन्छिन खोजेको मृतकका आफन्तले आरोप लगाएका छन् ।

प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाइँले मदिरा सेवन गरेका सैंजुले मदिरा सेवन गरेकै राईलाई अभद्र व्यवहार गर्न खोजेपछि इँटाले टाउकोमा हान्दा सैंजुको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको बताए ।

धर्नामा बसेका मृतकका भाइ दयाराम सैंजुले सुनियोजितरुपमा दाजुको हत्या भएको दाबी गरे ।

उनले भने–‘शव हेर्दै थाहा हुन्छ, विभत्स हत्या भएको छ । टाउकाको पछाडिबाट अगाडिसम्म प्वाल परेको छ । इँटाले हानेको नभइ कुनै रडले टाउको प्वाल पार्नेगरी हानेको छ । जीउभरि निलडाम छ । तर, प्रहरीले घटनाको अनुसन्धान फितलो बनाउन खोज्दैछ ।’

आफन्तले घटनाको निष्पक्ष छानबिन नभए कडा आन्दोलन गर्ने बताएका छन् । रासस