
मंगलबार पोखरा रंगशालामा भएको उद्घाटन खेलमा सुदूरपश्चिम स्पोर्टिङ क्लब विजयी भएको छ । सुदूरपश्चिमले आयोजक सहारा क्लबलाई ३–० को फराकिलो अन्तरले पराजित गर्यो ।
घरेलु मैदानमा कमजोर प्रदर्शन गरेको सहाराले मध्यान्तरअघि एक तथा मध्यान्तरपछि दुई गोल खायो ।
सुदूरपश्चिमको जितमा धनबहादुर थापा, मनिराम चौधरी ‘म्याक्स’ तथा राकेश हमालले एक/एक गोल गरे ।
खेलमा आधादर्जन बढी अवसर पाएपनि सहाराका खेलाडीले गोल गर्न सकेनन् ।
प्रतियोगितामा सहारा र सुदूरपश्चिमसँगै मोफसलका धरान फुटबल क्लब र झापा–११ रहेका छन् ।
त्यसैगरी, तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरीसहित ‘ए’ डिभिजनका संकटा, मनाङ–मर्स्याङ्दी र थ्रीस्टार क्लब सहभागी छन् ।
साथै, १२ टोलीमा दुई विदेशी क्लबहरु बंगलादेशको बरिन्धरा र भारतको सिक्किम युनाइटेड रहेका छन् ।
बुधबार भारतको सिक्किम युनाइटेड र धरान फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
उपाधि विजेता टिमले ७ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ३ लाख ५१ हजार पाउनेछ ।
यसअघि, मंगलबारै प्रतियोगिताको उद्घाटन गर्दै पोखरा–लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले खेलकुदको विकासका लागि महानगरले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्