२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


खलंगा च्याम्पियन


0
Shares

बिहीबार बुड्डाबाजे क्रिकेट मैदान रातामाटामा भएको उपाधि भिडन्तमा दशरथचन्द नगरपालिका–२ देहिमाडौंलाई ६ विकेटले हराउँदै खलंगाले उपाधि चुमेको हो ।

टस हारेर ब्याटिङको निम्ता पाएको देहिमाडौंले १९.१ ओभरमा १३७ रन बनाएको थियो ।

जगेन्द्र बोहराले ३३, ऋषिकेश बोहराले २८ तथा खडक बोहराले २५ रन जोडे ।

खलंगाका लागि प्रदीप चन्द र हरिस कार्कीले समान ३/३ विकेट लिए ।

जवाफमा १३८ रनको विजय लक्ष्य खलंगाले १८.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो ।

‘म्यान अफ द फाइनल’ घोषित खलंगाका सुरज बोहराले अविजित ६६ रनको योगदान गरे । राजु भाटले २० तथा हरिस कार्कीले १७ रन बनाए ।

देहिमाडौंका ऋषिकेश बोहरा, गजेन्द्र बोहरा र सुरेन्द्र बोहराले समान १/१ विकेट झारे ।

उपाधिसँगै खलंगाले नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त परेको छ । उपविजेता देहिमाडौंले ३० हजारमा चित्त बुझायो ।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै व्यक्तिगत ११४ रन तथा ७ विकेट लिएका खलंगाका सुरज बोहरा ‘म्यान अफ द सिरिज’का साथै उत्कृष्ट ब्याट्सम्यान घोषित भए । उनले ५ हजार रुपैयाँ पुरस्कार पाए ।

यस्तै, प्रतियोगिताभर ९ विकेट लिनुका साथै ७६ रन बनाएका देहिमाडौंका ऋषिकेश बोहरा उत्कृष्ट बलर घोषित भए ।

विजेता र उपविजेता टोलीलाई दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा र उपप्रमुख मीना चन्दले पुरस्कार वितरण गरेका थिए ।

सहिद दिवसको अवसरमा दशरथचन्द नगरपालिकाको आयोजना, बैतडी जिल्ला क्रिकेट संघ र नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा प्रतियोगिता सम्पन्न भएको हो ।

माघ ३ गतेदेखि सुरु भएको प्रतियोगितामा दशरथचन्द नगरपालिकाका ११ ओटै वडाका ११ टिमको सहभागिता रहेको थियो ।