
यो वर्ष मात्र जिल्लाका साविकका ३५ वटा गाविसमा सञ्चालन गरिएको कुष्ठरोग नियन्त्रण अभियानको क्रममा ७७ जना नयाँ कुष्ठरोगी फेला परेका जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
गतवर्ष जिल्लामा ७१ जना कुष्ठरोगी फेला परेका थिए । गत वर्षको तुलनामा यो वर्ष जिल्लामा कुष्ठरोगीको संख्या बढेको हो । योसँगै जिल्लामा १ सय ४८ जना कुष्ठरोगीका बिरामी फेला परेका छन् ।
कुष्ठरोगलाई अझै पनि नेपाली समाजमा लाज तथा भयको विषय बनाइएका कारण मानिसले रोग लुकाएर बस्ने गरेको बताइएको छ । रोगले विकराल रुप लिनु अगावै पूर्णरुपमा औषधि सेवन गरे कुष्ठरोगबाट छुटकारा पाउन सकिने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख योगेन्द्रप्रसाद भगतले बताए ।
सरकारले पूर्णरुपले औषधि सेवन गर्ने बिरामीलाई प्रोत्साहनस्वरुप एक हजार रुपैयाँ भत्तासमेत दिँदै आएको छ । स्वास्थ्य संस्थामा कुष्ठरोगको औषधि निःशुल्क पाइन्छ ।
प्रतिक्रिया दिनुहोस्