२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


६ जुवाडे समातिए, जुवाको खालबाट २६ लाखको चेक बरामद


0
Shares

जिल्ला प्रहरी कार्यालयको टोलीले गणेशचोकमा जुवा खेल्दै गरेका वीरेन्द्रनगर–१ बांगेसिमलका ज्ञानेन्द्रबहादुर विश्वकर्मा, वीरेन्द्रनगर–३ का टीका वली तथा ज्ञानेन्द्र नेपाली, वीरेन्द्रनगर–६ का दुर्गाप्रसाद सापकोटा तथा भद्रबहादुर क्षत्री र सवीर मियाँलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीकाअनुसार गणेशचोकस्थित नेपाल प्रहरीका भूतपूर्व असइ भद्रबहादुर क्षत्रीको घरमा जुवा खेलिरहेको अवस्थामा रु ६ लाख ४९ हजार ५६० नगद र रु २६ लाख ७५ हजारका चेकसहित उनीहरू पक्राउ परेका हुन् ।

प्रहरीले जुवाको खालबाट रु २६ लाख ७५ हजारको चेक पनि बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामसिंह चौधरीकाअनुसार कवाडीको ठेक्कापट्टा गर्ने बाराका सवीर मियाँको नाममा काटिएको गणेशजल सहकारीको रु १० हजार र दुर्गाप्रसाद सापकोटाका नाममा काटिएका चारओटा चेक बरामद भएका छन् ।

सापकोटाका नामका ग्लोबल आइएमई बैंकको रु पाँच लाख, नेपाल इन्भेस्टमेन्ट बैंकको रु १०/१० लाखका दुई चेक र सानिमा बैंकको रु एक लाख ६५ हजारको चेक बरामद गरिएको प्रनाउ चौधरीले जानकारी दिए ।

‘ठाउँ परिवर्तन गर्दै खेल्ने गरेको सूचना हामीलाई प्राप्त भएको थियो’–प्रहरी निरीक्षक शंकर श्रेष्ठले भने–‘निरन्तरको मिहेनतपछि पक्राउ गर्न सफल भयौं ।’

प्रहरीकाअनुसार यो समूह जुवा खेल्नका लागि वीरेन्द्रनगरनजिकैको जंगलमा पनि पुग्ने गरेको थियो ।

केही दिनअघि उत्तरी जलाधार क्षेत्रभित्रको जंगलमा जुवा खेलिरहेको सूचना पाएपछि गएको प्रहरी टोलीले तास र मदिरामात्रै फेलापारेर फर्केको थियो ।

‘हामी नपुग्दै उनीहरुसम्म सूचना पुगिसक्ने भएकाले पक्राउ गर्न सकिरहेका थिएनौं’–प्रहरी निरीक्षक श्रेष्ठले भने–‘योपटक भने सफलता हातपर्‍यो ।’ रासस