
खानपानमा ध्यान पुर्याए क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
सूर्तिजन्य पदार्थको सेवन, धुलो, धुँवा र खानपानका कारण शहरी क्षेत्रका मानिस फोक्सोको क्यान्सरबाट बढी प्रभावित हुने गरेका छन् ।
नेपालमा फोक्सो र आमाशयको क्यान्सर धेरैलाई लाग्ने गरेको छ । तर महिलामा भने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर बढी देखिने गरेको छ ।
अनावश्यक रुपमा तौल घट्दै जानु, पातलो दिशा धेरै हुनु, कब्जियत हुनु, दिशामा रगत देखिनु, शरीरमा गाठा गुठी देखिनु र महिलाहरुको योनीबाट गन्हाउने पानी बग्ने जस्ता लक्षण देखिएको छ भने विचार पुर्याउनु है यो क्यान्सर रोगको लक्षण पनि हुन सक्छ ।
तर यी लक्षण पनि क्यान्सर रोगको पहिलो चरणको लक्षण हो भनेर यकिनका साथ भन्न नसकिने भएकाले स्वास्थ्यमा विशेष विचार पुर्याउन चिकित्सकहरुले आग्रह गरेका छन् ।
हाल युवा अवस्थामा नै क्यान्सर रोग देखा पर्न थालेको चिकित्सकहरु बताउँछन् । नेपालमा कति क्यान्सरका विरामी छन् भन्ने यकिन तथ्यांक छैन ।
यद्यपी, ६० हजारभन्दा बढी क्यान्सर रोगी भएको अनुमान छ । नेपालमा वार्षिक ४० हजार नयाँ बिरामी थपिने गरेको अनुमान गरिन्छ ।
क्यान्सरकै कारण वर्षेनी विश्वमा ८० लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ भने यसमा ४० लाख मानिसको ३० देखि ६९ वर्षको उमेरमै मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।
सन् २०१८को जनवरीदेखि नेपाल सरकार र नेपाल स्वास्थ्य अनुसन्धान परिषद् मिलेर नेपालमा कति क्यान्सर विरामी छन् भनी तथ्याक सङ्कलन थालिएको छ ।
सरकारले क्यान्सर रोग लागेका विरामीलाई १ लाख रुपयाँसम्म सहयोग गर्ने कार्यक्रम त ल्याएको छ ।
तर क्यान्सर रोगको उपचार प्रणाली निकै महंगो भएकाले सरकारको यो सहयोग बढाउनु पर्ने क्यान्सर रोगका विरामीहरुको भनाइ छ ।
विश्वले क्यान्सर रोग निवारण गर्न सन् २०१६ देखि १८ सम्म ‘हामी सक्छौं, म सक्छु’ भन्ने सन्देशका साथ काम गरिरहेको छ ।
सन् २०१८मा भने क्यान्सर रोग सम्बन्धि नीति तथा कार्यक्रम बनाउनका लागि उत्प्रेरणा जगाउने, जस्ता कार्यक्रम गर्ने भनी विश्वले नै योजना बनाएको छ ।
नेपाल सरकारले क्यान्सर रोगीका लागि छुटाएको रकम कसरी विभाजन गर्ने भन्नेमा प्रष्ट हुन आवश्यक रहेको क्यान्सर रोग विशेषज्ञहरु नै बताउँछन् ।
सरकारी अस्पतालहरु सक्षम भए मात्र क्यान्सरको उपचार राम्रो हुने उनीहरु बताउँछन् ।
क्यान्सर रोग लाग्न नदिने उपाए भनेको नै जीवन शैली सुधार्नु हो ।
खानपानमा विशेष ध्यान पुर्याई स्वास्थ्यमा विशेष ख्याल गर्न सकियो भने क्यान्सर रोगको जोखिम कम गराउन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्