
कोषले आइतबार पत्रकार सम्मेलन गरी महाशिवरात्रीका दिन भक्तजनहरुका लागि दर्शनको ब्यवस्थादेखि सुरक्षासम्मको प्रबन्ध मिलाइएको जानकारी दिएको हो । महाशिवरात्रीको दिन बिहान ३ बजदेखि नै मन्दिरका चारवटै ढोका खुला गरिने कोषले जनाएको छ ।
एअरपोर्ट, बत्तीसपुतली र गौशालातर्फबाट आउने भक्तजनका लागि तिलगंगा पिङ्लास्थान सुमार्गी भवन अगाडि हुँदै पञ्चदेवल, दक्षिण ढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाईएको छ ।
यस्तै, गुहेश्वरीतर्फबाट आउने भक्तजनहरुका लागि गौरीघाट, उमाकुण्ड, दक्षिणामूर्ति, रुद्रगाडेश्वर, बासुकीनाथ हुँदै उत्तर ढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाईएको छ ।
चावहिल, सिफल, जयवागेश्वरी तर्फबाट आउनेहरु लागि मित्रपार्क, जयवागेश्वरी, भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेश गरी पश्चिम मूल ढोकासँगै रहेको प्रहरी पहरा गणबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाईएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ ।
दर्शनका लागि जुन ढोकाबाट प्रवेश गर्ने हो सोही ढोकाबाट बाहिर निस्कने गरी व्यवस्था मिलाईएको छ भने मन्दिरको प्राङ्गणबाट बाहिर निस्कन पश्चिमतर्फको मूल ढोकाबाट ब्यवस्था मिलाइएको जनाइएको छ ।
नित्य दर्शनार्थीहरुका लागि बिहान ७ बजे भित्र भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेश गरी पश्चिम मूल ढोकासँगै रहेको प्रहरी पहरा गणबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाईएको छ ।
महाशिवरात्रीको अघिल्लो दिन साँझ ७ बजेदेखि महाराजगञ्ज चक्रपथदेखि कोटेश्वरसम्मको चक्रमपथ क्षेत्रमा मालवाहक तथा भारी सवारी साधनलाई प्रवेश निषेध गरिएको छ । कोषका सदस्य सचिव डा. प्रदीप ढकालले लागूपदार्थ मुक्त शिवरात्री बनाउने दाबी पनि गरे ।
महाशिवरात्री पर्वका लागि देशका विभिन्न स्थान र भारतबाट साधुसन्तहरु पशुपति क्षेत्रमा आउने क्रम शुरु भईसकेको छ ।
प्रतिक्रिया दिनुहोस्