Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


पाठेघरको मुखको क्यान्सर परिक्षण गर्न निःशुल्क शिविर


0
Shares

सल्यान, फागुन ३ । गाउँपालिकाभित्र पाठेघर सम्बन्धी समस्या भएका महिलाको संख्या अत्यधिक रहे पनि उनीहरुले रोग लुकाएर बसिरहेको भन्ने जानकारी पाउना साथ सल्यानको कपुरकोट गाउँपालिकाले शिविर सञ्चालन गरेको छ ।

गाउँपालिकाले आफ्नै लगानीमा पाठेघर खस्ने, समस्या र पाठेघरको मुखको क्यान्सर परिक्षण गर्न आज बुधबार र  विहिबार दुइदिनका लागी निःशुल्क शिविर आयोजना गरेको हो ।

शिविरको बुधबार स्वास्थ्य चौकी कपुरकोटमा गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले उद्घाटन गरेका हुन् ।

सो अवसरमा उनले कम उमेरमा विवाह गर्नु, गर्भवती भएको बेला भारी बोक्नु, सुत्केरी स्याहार नपाउनु जस्ता कारणले पाठेघर तथा तल्लो पेट सम्बन्धी समस्या भएका महिला अत्याधिक हुने गरेको बताउँदै यसबारे चेतना फैलाउन जरुरी रहेको बताए ।

उनले कोहि पनि रोग लुकाएर बस्न नहुने जनाउँदै यी यस्ता शिविर सञ्चालन गरी नागरिकलाई स्वास्थ्य सेवाको पहुँच पुर्याउन आफुहरुले आगामी दिनहरुमा पनि पहल थाल्ने बताए ।

यस्तै कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले ग्रामीण क्षेत्रका महिलाको मुख्य समस्याको रुपमा पाठेघर सम्बन्धी रोग र समस्याहरुको निदानका लागि शिविर महत्वपुर्ण हुने बताइन् ।

यस्तै जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन अधिकृत खिमेन्द्र शाख्यले गाउँका महिलाले पाठेघर सम्बन्धी समस्या खुलेर नभन्ने र रोग लुकाएर बस्ने गरेकाले पनि यस सम्बन्धी सचेतना जरुरी देखेर आफ्नो कार्यालयको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको बताए ।

गाउँका आमा दिदीबहिनीहरु प्रसुति भएको महिना दिन नबित्दै काममा लाग्नुपर्ने, खानपिन र सरसफाई पनि नमिल्ने भएकाले पाठेघरमा छिट्टै सक्रमण हुने गरेको डाक्टर दिपक ढकालले बताए ।

गत माघ १६ गते आयोजना गरिएको स्वास्थ्य शिविरमा अधिकांशमा पाठेघरको समस्या देखापरेपछि गाउँपालिकाले यस सम्बन्धी शिविर राखेको हो ।

शिविरमा डा। ढकाल सहित जिल्ला स्वास्थ्य कार्यालयको ७ जनाको टोलि खटिएको कपुरकोट गाउँ स्वास्थ्य संयोजक अरुण दाहालले बताए ।

साथै उनले आज बीहिबारसम्म शिविर सञ्चालन हुने भएकाले समस्यामा परेका महिलालाइ आएर निःशुल्क स्वास्थ्य लाभ लिन अनुरोध पनि गरेका छन् ।।