१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


पाँच इन्भेस्टमेन्टका ८ सन्चालक पक्राउ, करोडौं रुपैयाँ बरामद


0
Shares

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले सोमबार छापामारी नेपाल राष्ट्र बैंक र सहकारी विभागबाट अनुमति नलिइ सुनसरी र मोरङमा सन्चालन गरिएका वित्तीय संस्थाका सन्चालकहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा अपन इन्भेस्टमेन्ट सुनसरीका भीमप्रसाद चौधरी र श्याम पेशकार थारु रहेका छन् । उनीहरुको साथबाट भर्पाइ रसिद, पासबुक र ऋणमाग फारामलगायतका सामग्री तथा स्थानीयबाट अवैधरुपमा संकलन गरिएको दुई करोड ३९ लाख ४७ हजार ६६० रुपैयाँ नगद बरामद गरिएको छ ।

त्यस्तै, हलेसी इन्भेस्टमेन्ट सुनसरीका चन्द्रबहादुर बिक र अनिता बिक पक्राउ परेका छन् । उनीहरुको साथबाट पनि पासबुक, दैनिक बचत रजिष्टर, ब्लुप्रिन्ट नक्सा, धितो राखिएको जग्गा धनीपुर्जा, ६ करोड ९९ लाख रुपैयाँ बरामद भएको ब्यूरोले जनाएको छ ।

त्यस्तै, चौतारी इन्भेस्टमेन्ट मोरङका सन्चालक राजु साह पनि पक्राउ परेका छन् । सो कम्पनीबाट पनि ८ लाख ६१ हजार नगद र कागजात बरामद भएको पनि प्रहरीले जनाएको छ ।

इटहरीको मन्सुन इन्भेस्टमेन्टका सन्चालक सुनिल गुरागाइँ, छिन्ताङ इन्भेस्टमेन्टका सन्चालकहरु डिल्लीप्रसाद आचार्य र प्रकाश आचार्य पनि पक्राउ परेका छन् ।

मन्सुन इन्भेस्टमेन्टबाट विभिन्न कागजातसहित ५० लाख नगद बरामद गरेको ब्यूरोले जनाएको छ ।

२४ प्रतिशतभन्दा बढी ब्याज असुल गरी ऋण प्रवाह गरेको र इन्भेस्टमेन्ट कम्पनीहरुले स्थायीरुपमा कार्यालय नराखी आफ्नो अनुकूल झोलाबाटै कार्यालय सन्चालन गर्ने गरेको ब्यूरोले जनाएको छ ।

हालसम्म ती इन्भेस्टमेन्ट कम्पनीहरुले अवैधरुपमा ९ करोड ९७ लाख ८९ हजार ६७१ रुपैयाँ संकलन गरेको पाइएको पनि ब्यूरोले जनाएको छ ।