१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


नवलपरासीमा व्यापारी र प्रहरीबीच झडप


0
Shares

महेशपुर भन्सार कार्यालयको गोदाममा भन्सार जाँचका लागि राखिएको कपडाको विवादलाई लिएर स्थानीय व्यापारी र प्रहरीबीच झडप हुँदा स्थानीय हिरालाल गुप्ता, पवन निगम र चिन्कु निगम घाइते भएका हुन् ।

महेशपुर भन्सार कार्यालयबाट व्यापारीको कपडा भैरहवा भन्सार कार्यालय पुुर्‍याउनका लागि गाडीमा राख्नेक्रममा स्थानीय व्यापारीले सोही भन्सार कार्यालयबाट भन्सार राजश्व तिर्ने भन्दै अवरोध सिर्जना गरेका थिए ।

प्रहरीले बल प्रयोग गर्नेक्रममा एक राउन्ड हवाईफायर गरेपछि प्रहरी र स्थानीय व्यापारीबीच झडप भएको थियो ।

ठूलो परिमाणमा रहेका सो कपडालाई वैध र अवैधभन्दा पनि आवश्यक अनुसन्धानका लागि भैरहवा भन्सार कार्यालय पठाइएको नवलपरासी (बर्दघाट–सूस्ता पश्चिम)का प्रहरी उपरीक्षक मुकुन्दराज आर्चायले जानकारी दिए ।

कपडा र सवारी–साधनसहित आवश्यक प्रक्रियाका लागि भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरी उपरीक्षक आचार्यको भनाइ छ ।

गत माघ २८ गते नवलपरासीको भुुजहवास्थित छोटी भन्सार नाकाबाट भित्र्याइएको ५१ पोका कपडा यसअगावै प्रहरी, भन्सार कर्मचारी र व्यापारीको सहमतिपश्चात् महेशपुर भन्सार कार्यालयको गोदाममा राखिएको थियो ।

उक्त कपडालाई प्रहरीले प्रक्रियाअनुसार भन्सार (राजश्व संकलन) काटेर नेपालतर्फ लैजाने सहमति यसअगावै भएपनि सो कपडालाई एकाएक भैरहवा भन्सार कार्यालय पठाएपछि स्थानीय व्यापारीले विरोध जनाएका हुन् ।

भैरहवा भन्सार कार्यालयका प्रमुख भुपालराज शाक्यले उक्त कपडा वैध र अवैधभन्दा पनि यसबारे अनुसन्धान भइरहेको जानकारी दिए । रासस