१२ भाद्र २०८२, बिहिबार | Fri Aug 29 2025


ट्रम्प नआउने भएपछि भारतको गणतन्त्र दिवसमा दक्षिण अफ्रिकी राष्ट्रपति मुख्य अतिथि


0
Shares

नयाँ दिल्ली, मंसिर १६ । भारतको गणतन्त्र दिवसमा मुख्य अतिथि बन्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्वीकार गरेपछि दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामफोसालाई मुख्य अतिथि बनाइने भएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हालै ‘जी–२०’ सम्मेलनका क्रममा दक्षिण अफ्रिकी राष्ट्रपति रामफोसालाई गणतन्त्र दिवसको मुख्य अतिथि बन्न निमन्त्रणा गरेका हुन् ।

अमेरिकी प्रतिबन्धका बाबजुद भारतले रुससँग सैन्य सामग्री खरिद गरेपछि अमेरिका र भारतबीचको सम्बन्धमा केही तिक्तता देखिएको हो । त्यसअघि नै भारतले अमेरिकी राष्ट्रपति ट्रम्पका लागि गणतन्त्र दिवसमा मुख्य अतिथिका रुपमा आमन्त्रण गरिसकेको थियो । तर ट्रम्पले समयअभावको कारण देखाउँदै निमन्त्रणा अस्वीकार गरेका थिए ।

भारतले आफ्नो गणतन्त्र दिवसका अवसरमा विदेशी राष्ट्रप्रमुख वा सरकार प्रमुखलाई मुख्य अतिथि बनाउने गरेको छ ।

ट्रम्पले अतिथि बन्न अस्वीकार गरेपछि भारतका लागि अर्को अतिथि खोज्न एक महिनाभन्दा बढी समय लागेको हो ।

भारतका प्रधानमन्त्री मोदीले दक्षिण अफ्रिकी राष्ट्रपतिलाई गणतन्त्र दिवसका अवसरमा मुख्य अतिथि बनाउन पाउँदा निकै खुशी लागेको बताएका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामफोसासँग भेट्न पाउँदा खुशी लागेको छ । यस्तो समय, जब भारत महात्मा गान्धीको १५० औं जयन्ती मनाउँदै छ, २०१९ को गणतन्त्र दिवस समारोहमा राष्ट्रपति रामफोसालाई मुख्य अतिथिका रुपमा स्वागत गर्नु हाम्रोलागि सम्मानको विषय हो ।’

उल्लेखनीय छ, महात्मा गान्धीको दक्षिण अफ्रिकासँग निकट सम्बन्ध थियो । (एजेन्सी)