
काठमाडौं, फागुन १४ । सिरियाली सरकारले विद्रोही नियन्त्रित क्षेत्रमा हवाई आक्रमण जारी राखेको छ ।
संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्मा युद्धविरामको प्रस्ताव पारित भएपछि पनि सिरियाली सरकारले हमला जारी राखेको हो ।
पछिल्लो हमलामा क्लोरिन जस्तै रासायनिक हतियारको समेत प्रयोग गरेको बताइएको छ । राजधानी दमास्कस नजिक पूर्वी गुटामा विद्रोही नियन्त्रित क्षेत्रमा सिरियाले बमबारी गरेको हो ।
आक्रमणमा सयौं सर्वसाधारणको मृत्यु भइसकेको छ । सिरियामा करिब ७ वर्षदेखिको संघर्षका क्रममा पूर्ण युद्धविराम भएको छैन ।
सिरियाली सरकारको सहयोगी रुसले पूर्वी गुटामा जैश अल इस्लामले युद्धविरामको उल्लंघन गरेको आरोप लगाएको छ ।
तर जैश अल इस्लामका प्रवक्ताले भने सिरियाली सरकारले नै संयुक्त राष्ट्र संघको प्रस्ताव नमानेको दाबी गरेका छन् ।
सिरियाको संघर्ष रोक्न सुरक्षा परिषद्मा ३० दिन युद्धविरामको प्रस्ताव पारित भएलगत्तै पनि सरकारी सेनाले हवाई आक्रमण तथा सैन्य कारबाहीलाई तिव्र पारेको थियो ।
यसैबीच फ्रान्स र जर्मनीले सिरिया सरकारमाथि युद्धविरामको सम्मानका लागि दबाब बढाउन रुसलाई आग्रह गरेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्