
वि.सं. २०७४ मंसिर ४ गते अस्पतालमा गर्भपरीक्षण गराएकी बेनी नगरपालिका–५ सेतोढुंगाकी समीक्षा खत्री कुँवरलाई सोही दिन औषधि वितरणकक्षमा रहेका स्वास्थ्यकर्मीले अल्बेन्डाजोलको बट्टा दिएका थिए ।
कुँवर र उनका परिवारले माघको २३ गतेमात्रै आफूलाई आइरन चक्की नभएर जुकाको औषधि दिएको थाहा पाएपछि तत्कालै बेनी अस्पतालमा पुगेर स्वास्थ्य परीक्षण गराएका थिए ।
उनीहरुले अस्पताल, जिल्ला प्रशासन कार्यालय र बेनी नगरपालिकाको कार्यालयमा उजुरी दिएका छन् ।
खड्का हाल सात महिनाकी गर्भवती छिन् । स्वास्थ्यकर्मीले गलत औषधि दिएका कारण आमा र बच्चाको स्वास्थ्य जोखिममा परेको पीडितको गुनासो छ ।
आइरनको कमीले आमा र बच्चाको स्वास्थ्यमा असर पर्नसक्ने भन्दै छानबिन गरी लापरबाही गर्ने कर्मचारीलाई कारबाही र गर्भवती महिलाको स्वास्थ्यको सुनिश्चितता हुनुपर्ने माग गरेका छन् ।
अस्पतालका प्रमुख डा. रोशन न्यौपानेले औषधि दिँदा कमजोरी भएको स्वीकार गर्दै बेनी र पोखराको अस्पतालमा भिडियो एक्सरे गर्दा आमा र बच्चाको स्वास्थ्यमा भने असर नगरेको देखिएको बताए ।
चेप्टेजुका परेको अवस्थामा गर्भवतीलाईसमेत ९० दिनसम्म अलबेन्डाजोल खुवाउनुपर्ने तर कुँवरको स्वास्थ्य परीक्षण रिपोर्टमा जुका परेको नदेखिएको उनको भनाइ छ ।
बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवाल, बेनी नगरपालिका–५ का वडाध्यक्ष लक्ष्मण बानियाँ र अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीको रोहबरमा सोमबार डा. न्यौपाने र पीडित परिवारबीच विभिन्न बुँदामा सहमति भएको छ ।
लापरबाही गर्ने कर्मचारीमाथि छानबिन गरी विभागीय कारबाही गर्ने, गर्भवतीको नियमित स्वास्थ्य परीक्षण र सहजरुपमा सुत्केरी हुने व्यवस्था मिलाउने सहमति भएको अस्पताल विकास समितिका अध्यक्ष रेग्मीले बताए ।
अध्यक्ष रेग्मीकाअनुसार छानबिनकाक्रममा लापरबाही गरेको भेटिएकाले सो दिन औषधि वितरणकक्षमा रहेकी कर्मचारी राधिका आचार्यलाई विभागीय कारबाही प्रक्रिया अघि बढाइको छ ।
पछिल्लो समय बेनी अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मी नभेटिने, प्राविधिक शिक्षालयबाट अभ्यासका लागि आएका सिकारुका भर पर्नुपर्ने, गलत औषधि दिने, घाउको टाँका लगाउँदा कपास भित्रै छोड्ने, शव परीक्षणमा ढिलासुस्ती गर्नेलगायत गुनासा आएका छन् । रासस
प्रतिक्रिया दिनुहोस्