२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


नक्कली नेपाली नोटसहित ६ जना पक्राउ


0
Shares

बल्खुस्थित कार्की फार्मेसीमा औषधि किन्न आएका दुई व्यक्तिका साथबाट रु ५०० को नक्कली नोट भोटिएपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान गर्दै जाँदा थप चारजना पक्राउ परेका हुन् ।

धनुषा, शर्षा नगरपालिका–९ घर भइ हाल ललितपुर, नख्खीपोट बस्ने धिरजबहादुर श्रीनेत ठकुरी र भोजपुर, खावा–९ घर भइ हाल नख्खीपोट बस्ने निगम राईले गत फागुन १२ गते कार्की फार्मेसीमा औषधि खरिद गरी रु ५०० को नोट दिएकामा औषधि पसलले शंका लागि प्रहरीलाई खबर गरेपछि सो गिरोहबारे खुलेको हो ।

औषधि पसलेले खबर गरेलगत्तै पुगेको महानगरीय प्रहरी वृत्त, कालिमाटीको प्रहरी टोलीले ठकुरी र राईलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा ठकुरीको साथबाट रु ५०० दरको थप दुईथान नोट बरामद गरेको थियो ।

उनीहरुसँग प्रारम्भिक सोधपुछ गर्दा सो नक्कली नोट ललितपुर, गोदावरी नगरपालिका–४ घर भइ हाल ललितपुरको ताल्सीखेलमा एमएस वर्कसप सन्चालन गरी बस्ने मनोज केसीबाट लिएको बताएपश्चात् फागुन १३ गते वर्कसपबाट केसीलाई प्रहरीले पक्राउ गरेको थियो ।

केसीको शरीर तलासी गर्दा उनको साथबाटसमेत एकथान रु ५०० को नक्कली नोट बरामद भएपश्चात् सोधपुछ गर्दा उनले सो नोट सोलुखुम्बु, तिम्ला घर भइ हाल काठमाडौं, कपन बस्ने भेषकुमार थापामगरबाट लिएको बताएपछि मगरलाईसमेत प्रहरीले पक्राउ गरेको थियो । मगरका साथबाट २१ थान ५०० को नक्कली नोट बरामद भएको थियो ।

यस्तै, रामेछाप, नागदह घर भइ हाल गोठाटार बस्ने नेमा तामाङको साथबाट रु एक हजारको नक्कली नोट बरामद भएको थियो ।

तामाङले आफूले सो रकम आशीष माझीलाई पनि दिएको बताएपछि माझीलाई पक्राउ गर्दा उनको साथबाटसमेत रु ५०० को नक्कली नोट बरामद भएको थियो ।

अनुसन्धानकाक्रममा ती नक्कली नोटहरु नेमा तामाङले वीरजगन्जबाट ल्याएको खुल्न आएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई काठमाडौं जिल्ला अदालतबाट खोटाचलन शीर्षक मुद्दामा मुद्दा अनुसन्धानमा रहेको प्रहरीले जनाएको छ । रासस