
रुकुम, फागुन १६ । रुकुम पश्चिमको मुसिकोटमा निर्माणाधीन रंगशाला अलपत्र परेको छ ।
बजेट अभावका कारण निर्माणाधीन रंगशालाको काम अलपत्र परेको हो । तत्कालिन जिल्ला विकास समिति रुकुमले एक लाख, तत्कालिन आपूर्ति मन्त्री गणेशमान पुनले संसद विकास कोषमार्फत् १५ लाख र तत्कालीन खेलकूदमन्त्री दलजित सिपाईलीको संसद् विकास कोषमार्फत् ३० लाख गरी ४६ लाख रकम खर्च गरी रंगशाला निर्माण शुरु भएको थियो ।
उक्त रकमले डोजर लगाएर खन्ने र ढुंगागिट्टी निकाल्ने काम सम्पन्न भएको थियो । त्यसपछि अहिलेसम्म मुसिकोट नगरपालिका र अन्य कुनै पनि निकायले सहयोग नगरेको स्थानीय रमेश खड्काले गुनासो गरे ।
उनले बजेट अभावले रंगशाला निर्माणको काम अलपत्र परेको जानकारी दिए । जिल्लाकै सबैभन्दा ठूलो रंगशाला निर्माण गर्ने उद्देश्यले स्थानीय ६ जनाले २०७१ सालमा करिब २४ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।
स्थानीय नरबहादुर खड्का, बुद्धिराम खड्का, रतिभान खड्का, टेकबहादुर खड्का, खम्मु खड्का लगायतले जग्गा प्रदान गरेका थिए ।
रुकुममा उपयुक्त रंगशाला नबन्दा खेलाडीलाई खेलकूद अभ्यास गर्न र अन्य खेलकूद प्रतियोगिता गराउन गाह्रो हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्