२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


भारतमा १० विद्रोही र एक प्रहरी मारिए


0
Shares

नयाँदिल्ली, फागुन १८ । भारतको छत्तीसगढ राज्यको एक जंगलमा शुक्रबार बिहान प्रहरी र भारतीय सशस्त्र विद्रोही समूह ‘नक्सलाइट’बीच भएको भिडन्तमा परी १० जना विद्रोहीको ज्यान गएको छ ।

उनीहरुको खोजीका लागि पुगेका प्रहरी र विद्रोहीबीचको सो भिडन्तमा परी एकजना प्रहरी पनि मारिएको जनाइएको छ ।

समाचारअनुसार छत्तीसगढ र तेलंगना राज्यको सीमा क्षेत्रमा पर्ने एक जंगलमा सो भिडन्त भएको थियो । उक्त भिडन्तकाक्रममा अरु केही विद्रोही घाइतेपनि भएको बताइएको छ ।

तेलंगना र छत्तीसगढ राज्यको संयुक्त सुरक्षा गस्ती टोलीमाथि ती दुई राज्यको सीमा क्षेत्रमा पर्ने पुजारी कन्कर जंगलमा विद्रोहीले आक्रमण गरेका थिए ।

सो आक्रमणपछि प्रहरीको जवाफी फायरमा परी ती विद्रोही मारिएका थिए । उक्त जंगलमा केही घन्टासम्म नै दोहोरो फायरिङ भएको थियो ।

मारिनेमा नक्सलाइट विद्रोही समूहका एकजना उच्चस्तरीय कमान्डर पनि परेका छन् । मारिने १० जनामा ६ जना महिला लडाकू परेका बताइएको छ ।

भारतमा भूमि अधिकारको मुख्य उद्देश्य र माग राखी सन् १९६७ बाट पश्चिम बंगालको नक्सालबारी भन्ने स्थानबाट यो विद्रोह सुरु भएको मानिएको छ ।

आजसम्म यस विद्रोहमा परी कम्तीमा पनि ६ हजार नागरिकको ज्यान गइसकेको भारतीय अधिकारीहरुले जानकारी दिएका छन् ।

भारतमा यो नक्सलाइट विद्रोहलाई सुुरक्षाको प्रमुख चुनौतीकारुपमा लिन थालिएको छ ।

सुरुमा भारतको छत्तीसगढमामात्र सीमित यो विद्रोह हाल आएर अन्य भारतीय राज्यमा पनि फैलिएको बताइन्छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि हालै दिएको एक सार्वजनिक अभिव्यक्तिमा यसलाई प्रमुख सुरक्षा चुनौतीकारुपमा लिइएको बताएका थिए । रासस/सिन्ह्वा