
काठमाडौं, फागुन १९ । अत्याधिक चिसोका कारण युरोपमा ६० जनाभन्दा बढीको मृत्यु भएको छ ।
पोल्यान्डमा मात्रै कम्तीमा २३ जनाको मृत्यु भएको छ । त्यहाँको तापक्रम माइनस १५ डिग्री सेल्सियसभन्दा तल झरेको छ । अत्यधिक चिसो बढेपछि त्यहाँको जनजीवन कष्टकर बनेको छ ।
यस्तै स्लोभाकिया, चेक रिपब्लिक, लिथुवानिया, फ्रान्स, इटाली, रोमानिया, सर्भिया, स्लोभेनिया, नर्वे, नेदरल्याण्ड, स्वीडेनलगायतका देशमा पनि अत्याधिक चिसो बढेको छ ।
चिसोकै कारण त्यहाँका कतिपय नागरिकले ज्यान गुमाएका छन् । चिसोबाट बच्न अत्याधिक मादकपदार्थ सेवन गरेर सुत्ने गरेका कारण धेरैको मृत्यु भएको बताइएको छ ।
हिमपातसँगै बढेको चिसो र हावाहुरीका कारण धेरै देशमा विद्यालय, उडान र यातायातका सेवा ठप्प भएको जनाइएको छ । आयरल्याण्डमा विद्युत अवरुद्ध हुँदा हजारौं परिवार अन्धकारमा बस्न बाध्य भएका छन् ।
स्टकल्याड, आयरल्याण्ड र बेलायतमा ९० सेन्टिमिटरसम्म हिउँ जमेको छ । खराब मौसम रहेकाले प्रभावित क्षेत्रका बासिन्दालाई घर बाहिर ननिस्किन आग्रह गरिएको छ ।
साइबेरियाबाट आएको मौसमी प्रणालीले युरोपको मौसम प्रभावित बनाएको हो । केही क्षेत्रको मौसम सुधार हुन थाले पनि अझै केही दिन चिसो रहने अनुमान गरिएको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्