
काठमाडौं, फागुन २१ । इटलीमा भएको संसदको निर्वाचनमा कुनै पनि दलको स्पष्ट बहुमत नआउने संकेत देखिएको छ ।
निर्वाचनपछि सार्वजनिक गरिएको एक्जिट पोलमा पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको गठबन्धनले सबैभन्दा बढी सिट जित्ने सम्भावना रहेको देखाएको छ ।
बर्लुस्कोनीको मध्यमार्गी पार्टी र उनको दक्षिणपन्थी सहयात्री लेगा नर्डको गठबन्धनले २२५ देखि २६५ सिट जित्ने प्रक्षेपण छ । संसद्मा बहुमत ल्याउन कम्तिमा ३१६ सिट आवश्यक पर्छ ।
बर्लुस्कोनीको गठबन्धन ठुलो देखिए पनि एकल पार्टीतर्फ भने संस्थापन विरोधी तथा युरोपेली युनियनको आलोचक फाइभ स्टार मुभमेन्टले सबैभन्दा बढी सिट जित्ने संभावना छ ।
उसले १ सय ९५ देखि २३५ सिट जित्ने सम्भावना छ । सत्ताधारी मध्य तथा वामपन्थी प्रजातान्त्रिक पार्टी भने तेस्रो स्थानमा सिमित हुने देखिएको छ । उसले ११५ देखि १५५ सिट ल्याउने सर्वेक्षणले देखाएको छ ।
संसदको सबै ६३० सदस्य संख्याका लागि भएको निर्वाचनमा जम्मा ३ हजार ९०१ उम्मेदवार प्रतिस्पर्धामा छन् भने सिनेटको ३१५ सदस्यका लागि १ हजार ९५८ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
निर्वाचनमा सबै उम्मेदवारले इटालीको अर्थतन्त्र सुधार र सुरक्षा प्रमुख मुद्धा बनाएका थिए । निर्वाचनमा आप्रवासीसम्बन्धी मुद्दाले पनि निकै चर्चा पाएको थियो ।
इटालीको दक्षिणपन्थी पक्षले आप्रवासीविरोधी मुद्दालाई बेजोडरूपले उठाएको छ ।
इटालीमा सन् २०१३ पछि मध्य तथा बामपन्थी प्रजातन्त्रिक दलको गठबन्धनका तीन फरक फरक प्रधानमन्त्रीले सत्ता सम्हालिसकेका छन् ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्