Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


‘बोक्सी’ भन्दै ‘६ घन्टासम्म’ यसरी निर्घात् कुटिइन् युवती, ‘दबाब’मा छाडिए आरोपी


0
Shares

आफूलाई ‘भोलेबाबा’ भन्ने रामबहादुर चौधरीले स्थानीय २० वर्षीया राधा चौधरीलाई बोक्सी भन्दै भन्दै निर्घात कुटपिट गरेका हुन् ।

राधाको पेट, छाती, टाउको, खुट्टा, घाँटी, नाक, कानलगायत शरीरका अरु भागमा चोट लागेको छ । उनी सोही ठाउँमा रहेको राष्ट्रिय कलेजमा आइएमा अध्ययनरत् छिन् ।

‘बिहान आँगन सफा गर्दै थिएँ, एक्कासि ५/७ जना मानिसहरु आएर मलाई जबर्जस्ती बाबा भएको ठाउँमा पुर्‍याए’–राधाले भनिन्–‘उनले ममाथि जाई लागेर कुट्न थाले ।’

‘म बोक्सी होइन, मलाई नकुट्नोस् भन्दा त्यहाँ रमिता हेरेर बस्नेहरुकाअगाडि मेरो शरीरका संवेदनशील अंगहरुसहित शरीरका अन्य भागमा निर्घात् प्रहार गरियो’–उनले भनिन्–‘मलाई नकुट भन्ने त्यहाँ कोही भएन । मैले निरन्तर ६ घन्टासम्म कुटाइ खाइरहें ।’

घटना सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय सुखडले पक्रेर ल्याएका रामबहादुरलाई छुटाउन सयौंको संख्यामा स्थानीयहरु प्रहरीकहाँ पुगेका थिए ।

प्रहरीले घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी, वडाध्यक्ष प्रेम रोकाया र पीडित युवतीका बुवा जोखन चौधरीलगायतको रोहबरमा रामबहादुरलाई छाडेको सुखडका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक दिनेश विष्टले बताए ।

कुनै समयमा साइकलमा भारतीय बजारबाट समान ल्याएर घरघर डुलेर व्यापार गर्ने रामबहादुरले ‘आफूलाई दैवी शक्ति प्राप्त भएको’ भन्दै गाउँमै झारफुक गरेर बस्न थालेको स्थानीयहरुले बताएका छन् ।

उनले राष्ट्रिय कलेज सुखडमा आइएसम्मको अध्ययन गरेर बीचमै पढाइ छाडेका थिए ।