१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


भारतको सर्वोच्च अदालतले ‘इच्छामृत्यु’ लाई दियो वैधता


0
Shares

काठमाडौं, फागुन २६ । भारतको सर्वोच्च अदालतले एक ऐतिहासिक फैसलामार्फत् ‘इच्छामृत्यु’लाई वैधता दिएको छ ।

केही निश्चित सर्त पालना गरेको खण्डमा बिरामीलाई कृतिम ढंगले जिवित राखिरहने उपचार बन्द गरि दिन सकिने फैसला सर्वोच्चले गरेको हो ।

सर्वोच्च अदालतले स्थायी प्रकृतिका रोगको उपचारमा संलग्न बिरामीले इच्छामृत्युवरण गर्न पाउने फैसला गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

स्थायी प्रकृतिका रोगमा उल्लेखित कडा निर्देशिकाहरु पालना गर्दै बिरामीलाई दिइएको उपचार रोकी मृत्युवरण सहज पारिन्छ । सर्वोच्च अदालतले भनेको छ– ‘सम्मानका साथ मर्ने अधिकार मौलिक अधिकार हो ।’

अदालतको फैसलामा इच्छामृत्यु चाहने व्यक्तिले कुनै गम्भीर प्रकृतिको रोगले पीडित भएको हुनुपर्ने उल्लेख गरिएको छ ।

इच्छामृत्युसम्बन्धी पत्रमार्फत् पूर्वजानकारीलाई अदालतले अनुमोदन गर्न सक्ने व्यवस्था गरिएको छ । यद्यपी कस्ता–कस्ता बिरामीले मृत्युवरण गर्न सक्छन् भन्ने चाहिँ स्पष्ट पारिएको छैन ।

क्यानडा, नेदरल्यान्ड, बेल्जियम, कोलम्बिया, लक्जमवर्गलगायत देश तथा अमेरिकाको क्यालिफोर्निया, वासिङ्टन, ओरेगन, मोन्टानालगायत राज्यमा इच्छामृत्युलाई काुननी मान्यता दिइएको छ ।

बेलायत, स्पेन, इटलीलगायत देशमा भने इच्छामृत्युको कानुनी वैधताबारे बहस जारी छ । (एजेन्सी)