
नयाँ दिल्ली, मंसिर १२ । विगत अढाई दशकदेखि भारतीय माओवादी पार्टीको महासचिव रहेर नेतृत्व प्रदान गर्दै आएका मुपल्ला लक्ष्मण राव ‘गणपति’ले नेतृत्व हस्तान्तरण गरेका छन् । अस्वस्थताका कारण उनले पदबाट राजीनामा दिँदै नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गरेपछि पार्टीको केन्द्रीय कमिटी बैठकले नंबाल्ला केशव राव ‘बसवराजु’लाई महासचिव चयन गरेको छ ।
विशेषज्ञका अनुसार नेतृत्व परिवर्तनसँगै भारतमा माओवादी गतिविधि तिव्र हुन सक्छ । भारतीय माओवादीका प्रवक्ता अभयले विज्ञप्ति जारी गर्दै नेतृत्व परिवर्तनको पुष्टि गरेका छन् । उनका अनुसार नेतृत्व परिवर्तनले पार्टी अझ बलियो हुनेछ ।
बसवराजु विगत २७ वर्षदेखि पार्टीको केन्द्रीय कमिटीमा छन् । अभयका अनुसार उनी १८ वर्षदेखि पार्टीको पोलिटब्यूरो सदस्यका रुपमा सक्रिय रहँदै आएका छन् भने केन्द्रीय सैन्य आयोगको प्रमुखका रुपमा पनि काम गरिसकेका छन् । सैन्य नेतृत्व सम्हालेकै कारण उनलाई हमलाको रणनीति बनाउन तथा आक्रामक रणनीति बनाउने सन्दर्भमा माहिर मानिन्छ ।
इन्जिनियरिङमा स्नातक बसवराजुलाई सन् १९८० मा छात्र संघको विवादका क्रममा गिरफ्तार गरिएको थियो । रिहालगत्तै उनी भूमिगत भएका थिए । त्यसयता प्रहरी प्रशासनसँग उनको बारेमा ताजा जानकारी वा पछिल्लो तस्वीरसमेत नभएको बताइएको छ । ६३ वर्षीय उनको बारेमा जानकारी दिने व्यक्तिलाई भारतका विभिन्न राज्य र केन्द्रीय सुरक्षा संगठनले डेढ करोड रुपैयाँभन्दा बढी इनाम घोषणा गरेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्