१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


बोक्सी घटनाका आरोपीसहित नगरप्रमुख चौधरीमाथि आक्रमण गर्नेहरु सार्वजनिक


0
Shares

जिल्ला प्रहरी कार्यालय कैलाली बिहीबार पत्रकार सम्मलेन गरी बोक्सी आरोपमा अमानवीय कार्य गर्ने ६ जना र नगरप्रमुखमाथि सांघातिक आक्रमण ४ जनालाई सार्वजनिक गरेको हो ।

फागुन २४ गते घोडाघोडी नगरपालिका, देवकलियामा बोक्सी आरोपमा किशोरीलाई यातना दिएको आरोपमा ६ जना पक्राउ परेका थिए । घटनाको मुख्य अभियुक्त भोलेबाबा भनिने रामवहादुर चौधरी, उनकी मुख्य सहयोगी १८ वर्षीया किस्मती चौधरी, २४ वर्षीया स्मारिका चौधरी, घोडाघोडी वडा नं ५ बस्ने ३४ वर्षीय वेदप्रसाद चौधरी, सोही ठाउँका ३३ वर्षीया चनकला चौधरी र ४१ वर्षीय सितारानी चौधरीलाई प्रहरीले सार्वजनिक गरेको हो । उनीहरु सबैले आफ्नो अपराध स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए ।

यस्तै २८ गते राति कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि सांघातिक आक्रमण गरेको आरोपमा पक्राउ परेका ४ जनालाई पनि सार्वजनिक गरिएको छ । उनीहरु चारैजना नेत्रविक्रम चन्द नेतृत्वको माओवादी कार्यकर्ता रहेको प्रहरीले जनाएको छ ।

नगरप्रमुख चौधरीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका घोडाघोडी नपा वडा नं १ बस्ने ४० वर्षीय कमल क्षेत्री, घोडोघोडी नगरपालिका ९ का ३६ वर्षीय भरत शाह, धनगढी उपमहानगर ८ का पूर्णप्रसाद खनाल र टिकापुर नगरपालिका १ का हृदयराज बोगटीलाई प्रहरीले सार्वजनिक गरेको हो ।

प्रहरी उपरिक्षक घिमिरेले घटनामा संलग्न रहेको भन्दै १३ जनाका नाममा किटानी जोहरी रहेकाले अन्यको खोजी भइरहेको बताए ।

पक्राउ परेका सबैका सम्बन्धमा प्रहरीले अदालतबाट म्याद थप गरि आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।